धरान : किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्षले एकपक्षीयरुपमा विज्ञप्ती निकालेर विशाल राई अध्यक्ष भएको संघको जिल्ला समितिलाई आधिकारिकता दिएको बिषयले सुनसरीका राई पत्रकारहरुसँगै मातृसंस्था किरात राई यायोक्खामा पनि गम्भीर चासोको बिषय भएको छ ।

मंसिर १६ गते पत्रकार संघका केन्द्रीय अध्यक्ष भिम राईले प्रेश विज्ञप्ती निकालेर विशाल राईको टिमलाई आधिकारिकता दिएको जनाएका थिए । तर, सुनसरीमा प्रविण राईको अध्यक्षतामा अत्यधिक संख्यामा सक्रिय राई पत्रकारहरु समेटिएको किरात राई पत्रकार संघ गठन भएको थियो । केन्द्रीय अध्यक्षले प्रविण राई नेतृत्वको संघसँग कुनै छलफल वा विवाद समाधान गर्न पहल नगरी एकपक्षीयरुपमा विज्ञप्ती निकालेपछि मातृसंस्था यायोक्खाको केन्द्रीय समिति र जिल्ला शाखामा उक्त विवादले औपचारिकरुपमा प्रवेश पाएको छ । प्रविण राई नेतृत्वको राई पत्रकार संघले शनिबार यायोक्खाको केन्द्रीय समिति अध्यक्ष तिलक राई र जिल्ला समिति अध्यक्ष कमला राईलाई भेटेर माइन्युटसहित विज्ञप्ती बुझाएको छ ।

photo 2

संघले गैरपत्रकारहरुको समुहलाई आधिकारिकता दिएको बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै केन्द्रीय अध्यक्षलाई निलम्बन गर्न माग गरिएको छ । ‘जिल्लामा सक्रिय पत्रकारहरु संघमा आवद्ध भएको भन्ने औपचारिक जानकारी हुदा हुदै केन्द्रीय अध्यक्षले धरान आएर औपचारिकरुपमा छलफलै नगरी कोठे बैठकबाट विज्ञप्ती जारी गरिएछ, यसप्रति हामी घोर भत्र्सना गछौ,’सचिव शिशिर राईले भने,‘यो बिषयमा यायोक्खा जिल्ला र केन्द्रीय समितिलाई पनि हामीले आधिकारिकरुपमा विज्ञप्ती बुझाएका छौ ।’ यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले आफुले पनि पत्रकार संघका केन्द्रीय अध्यक्षसँग भेट हुदा सबैसँग समन्वय गरेर मिलाउन र आफुलाई पनि जानकारी दिन भनेपनि के भयो भनेर थाह नदिएको बताए । ‘मलाई पनि रिपोर्टिङ गर्नुस् है भनेको थिए, पत्रपत्रिकामा पो फेरी विवाद भयो भन्ने समाचार पढेर थाह पाए ।

यायोक्खा जिल्लाले पनि समिति गठन गरेको थियो, त्यहाँपनि समन्वय भएनछ । यो बिषयमा हामी पनि गम्भीर छौ,’उनले भने । यायोक्खाकी जिल्ला अध्यक्ष कमला राईलाई पत्रकार संघको केन्द्रीय अध्यक्षसँग पटक पटक जानकारी मागेको र विवाद समाधान गर्नुको विकल्प नभएको भनेर आफुले आग्रह गरेको पनि बताइन् । ‘केन्द्रीयलाई प्रविण राई नेतृत्वको बारेमा थाह छैन भन्नुभयो, तर मैले पहिला नै जानकारी आएकोले व्यक्ति फेरिए पनि संस्था फेरिदैन भने,’उनले भनिन्,‘अधिवेशनबाट नेतृत्व चयन आउनुपर्छ भनेको छुँ । मिलाएर जानुको विकल्प छैन ।’