काठमाडौ:प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय बैठक आयोजना भइरहदा नेता रामचन्द्र पौडेल पक्षधरले छुट्टै भेला आयोजना गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा विधानलगायतका विषयमा छलफल जारी रहेको बेला पौडेल पक्षधरको आइतबार बिहान अलगै भेला बसेको हो । यो भेलाले कांग्रेसमा तरंग पैदा गरेको छ । नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पौडेल पक्षधरका नेताहरुको अलगै भेला भएको हो । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा विधान मस्यौदा समितिले पेश गरेको विधानका विषयमा छलफल जारी छ ।

आगामी महासमिति बैठक र विधानका विषयमा उक्त भेलामा छलफल भएको बताइएको छ । नेताहरुका अनुसार पौडेल पक्ष पार्टीको पदाधिकारी बढाउने पक्षमा छ । सभापति शेरबहादुर देउवा पक्ष भने केन्द्रीय सदस्य बनाउनुपर्ने पक्षमा छन् । साथै, सभापतिलाई अभैm शक्तिशाली बनाउनुपर्नेमा देउवा पक्षको मत छ ।

नयाँ विधानमा केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव छ । यस्तै, एक व्यक्ति एक पदको अवधारणा पनि विधानमा छ । यो विधान संशोधनविना पारित भयो भने केन्द्रीय सदस्यको संख्या वृद्धि हुनेछ भने सभापति थप शक्तिशाली हुनेछ । विधानमा भएको यही कुराबाट सशंकित बनेको पौडेल पक्ष त्यसलाई रोक्न पदाधिकारी थप्नुपर्ने र सभापतिको अधिकार कटौती गर्नुपर्ने पक्षमा आवाज उठाइरहेको छ ।

आइतबार विहान पौडेल पक्षका चाक्सीबारीमा भेला भएर यिनै बिषयमा गम्भीर छलफल गरेका हुन् । यो भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, चन्द्र भण्डारी, गगन थापा, मिनेन्द्र रिजाललगायतका नेताहरु थिए । यो बैठक करिब तीन घण्टा चलेको थियो ।