सुनसरी: इटहरी उपमहानगरपालिकाको ३४ औ कार्यपालिका वैठकले जनता पार्क निर्माण स्थल, सार्वजनिक जमिनमा रहेको डिभिएम स्कुल र खेलाडीहरुसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । कार्यपालिकाले स्कुलसँग वार्ता गर्न वडा नम्वर ९ का वडाध्यक्ष भूपेन्द्र वरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । यस्तै, कार्यपालिका सदस्य विश्वराज धिमालको संयोजकत्वमा क्रिकेट मैदानका विषयमा खेलाडीहरुसँग वार्ता गर्न टोली गठन गरेको छ । दुवै पक्षसँग वार्ता गरी समस्या समाधान गर्न टोलीलाई कार्यदेश दिइएको छ । यसैगरि, इटहरीमा खाद्य गुणस्तर र निर्माण समाग्रीको गुणस्तर मापनका लागि प्रयोगशाला स्थापना गर्ने कायर्यपालिका बैठकले निर्णय गरेको छ । इटहरी उपमहानगरले एउटा शव वाहन खरीद गरि रेडक्रम इटहरीलाई हस्तानतरण गर्ने छ भने इटहरी अस्पतालका लागि एम्वुलेन्स खरीद गर्ने निर्णय पनि भएको छ । वैठकले विभिन्न वडाका ७ वटा योजनालाई वहुवर्षिय योजना अन्र्तगत सञ्चालन गर्ने निर्णय गरेको छ । इटहरीका प्रत्येक वडामा वृक्षारोपण लाई तिव्रता दिइने भएको छ । विरुवा रोपेर जोगाउन वाँसको टोकरी निर्माण गर्न ज्याला वापत प्रत्येक वडालाई पचास हजारका दरले उपलब्ध गराउने निर्णय भएको छ । वाँस भने सम्वन्धित वडाले नै ब्यवस्था गर्ने छन ।अपाङ्घ वाल अस्पताल तथा पूर्नस्थापना केन्द्र इटहरीको भवन नक्सा पास गर्दा लाग्ने दस्तुर छुट गरिने भएको छ । उद्योग वाणिज्य संघ इटहरीको भवन निर्माणकालागि पन्ध्रलाख उपलब्ध गर्ने निर्णय भएको छ । यसैगरि डा दिवाकर रेग्मी संयोजक रहेको विज्ञ सल्लाहकार समूह विस्तार गरिएको छ ।