धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले पहिला घरपरिवारबाटै हिंसा अन्त्य गर्नुपर्ने बताएका छन् ।

मानवअधिकार दिवस तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापनको अवसरमा महिला सञ्जाल धरानद्वारा सोमबार आयोजित कार्यक्रममा सभामुख भण्डारीले लैगिक हिंसा र विभेदको शुरुवात आफ्नो घरबाटै हुने भएकोले पहिला घरभित्रको हिंसा अन्त्य गर्नुपर्ने बताए । उनले बाबु आमाले नै छोराछोरीलाई गर्ने व्यवहारबाट नै विभेद र हिंसाको बिउ रोपिने बताए । ‘हिंसाको शुरुवात घरबाटै हुन्छ । छोरी जन्माउनै नचाहने, जन्माए पनि विभेद गर्न शुरु भइहाल्ने,’सभामुख भण्डारीले भने,‘महिलाहरुले आर्थिक, सामाजिक, सँस्कृतिक, शारीरिक हिंसा भोग्नुपरेको छ, त्यसैले पहिला घरभित्र हुने हिंसाको अन्त्य गर्नुपर्छ ।’

सभामुख भण्डारीले ६१ प्रतिशत महिलाहरुले आफुमाथि भएको हिंसाबारे कहीकतै व्यक्त गर्न नसकेर पीडा लुकाएर हिडिरहेको तथ्यांक पनि प्रस्तुत गर्दै १३ प्रतिशत महिलाहरुलाई मात्र हिंसाविरुद्ध कानुन छ भन्ने ज्ञान भएको बताए । त्यसैले गाउँ, टोल र वस्तीहरुमा हिंसाविरुद्धको अभियान सधै जारी रहनुपर्ने सभामुख भण्डारीले बताए । ‘महिलालाई हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन गर्नुपर्छ, महिलालाई सम्मान गर्नुपर्छ,’उनले भने,‘अभियानहरु पीडितमुखी हुनुपर्छ, र निरन्तर हुनुछर्प । प्रहरीले पनि घटनालाई पीडितको आँखाबाट पनि हेरेर विश्लेषण गर्नुपर्छ, आफ्नो आँखाले हेरेर मात्र होइन ।’

aaaIMG_7582

सभामुख भण्डारीले हिंसाको घटनाहरु एकपछि अर्को वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै ती घटनाहरु मानवअधिकारको उल्लंघन भएको पनि बताए । यद्यपी उनले पाश्चात्य सँस्कृतिको प्रभावमा परेर भड्किलो जीवनशैली, नशालु पदार्थको बढ्दो बिक्री र उत्तेजक फेशनले पनि हिंसालाई बढवा गर्ने धारणा व्यक्त गरे । यस्ता विकृत्तिजन्य कुराहरुप्रति पनि सचेत रहदै न्युनीकरण गर्नुपर्ने उनको भनाई थियो ।

नेपाली कांग्रेसका सभापति तिलक राईले हरेक क्षेत्रमा महिलाहरुको उपस्थिति बढेको भन्दै सामाजिक, राजनीतिकसँगै आर्थिकरुपमा पनि सशक्तीकरण हुनुपर्ने बताए । महिला अधिकारकर्मीहरुले १६ दिने अभियानको मात्र अन्त्य भएको तर हिंसाविरुद्धको अभियान बर्षेभरि निरन्तर रहने उद्घोष गरेका थिए । सञ्जालकी निवर्तमान अध्यक्ष शिला बज्रचार्यले अभियान कहिल्यै पनि नटुंगिने बताउदै हिंसाविरुद्ध सधै सक्रियता हुने बताइन् । अध्यक्ष सविता राईले पीडितलाई जनप्रतिनिधि, प्रहरी र न्यायलयबाट न्याय दिलाउनुपर्ने धारणा व्यक्त गर्दै आफुहरु माध्यम मात्र भएको बताइन् । वरिष्ठ उपाध्यक्ष चेतना श्रेङले राजनीतिक दलहरुले महिलालाई नेतृत्व तहमा अवसर नदिए हिंसा गरेको आरोप लगाइन् । कार्यक्रममा कोषाध्यक्ष लहरु जिमीले सञ्जाल, इलाका प्रहरी कार्यालय र धरान उपमहानगरपालिकाको सहकार्यमा भएको १६ दिने अभियानको गतिविधिहरुबारे जानकारी दिएकी थिइन् ।

aaaIMG_7652 copy