पथरी: नगरवासीको स्वास्थ्यमा ख्याल राख्ने योजना अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा पनि स्वास्थ्य विमा कार्यक्रम लागू हुने भएको छ ।

स्वास्थ्य क्षेत्रको गतिविधिले प्रदेशमै चिनिएको सो नगरमा स्वास्थ्य विमा लागू गर्ने विषयमा समाजका विभिन्न पक्षका प्रतिनिधिहरुसँग नगरपालिकाले मंगलवार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिका प्रमुख एवम् स्वास्थ्य विमा समितिका समेत प्रमुख रहेका दिलिपकुमार राईले नगर समितिका सदस्य पुरा गर्दै वडा समिति निर्माण गरेर स्वास्थ्य विमाका सम्पूर्ण कार्यक्रम अघि बढाउने वताए । स्वास्थ्य विमा वोर्ड १ नम्वर प्रदेशले अघिसारेको सो कार्यक्रममा बोर्डका दिलिप पोखरेल र खेम अधिकारीले सहजिकरण गर्दै स्वास्थ्य विमाका बारेमा वताएका थिए । प्रदेशभरी यस खाले अभियान सञ्चालनमा रहेको कार्यक्रममा जानकारी दिइएकोे थियो ।

वडाध्यक्षको अध्यक्षतामा वडामा समेत समिति गठन गरेर अभिमुखिकरण कार्यक्रम सञ्चालनपछि प्रत्येक वडामा १,१ जना विमा सहयोगी छनौट गरिने छ । उनीहरुमार्फत विमा गराउने अभियान चल्नेछ । पथरीशनिश्चरे नगरका लागि स्वास्थ्य विमाको प्रथम विन्दु नजिकै रहेको मंगलबारे अस्पताललाई बनाइएको छ । त्यहाँबाट अन्यत्रका विमा कार्यक्रम सञ्चालन गरेका अस्पतालमा रेफर समेत गरिने छ । विमाका लागि ५ जनासम्मको परिवारका लागि ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचारका लागि वर्षको २ हजार ५ सय रुपैयाँ विमा स्वरुप अग्रिम जम्मा गर्नुपर्नेछ । ५ जना भन्दा बढी परिवार भएमा सो रकममा प्रति सदस्य ४ सय २५ का दरमा रकम थप गर्नुपर्ने प्रावधान रहेको छ ।