धरान: मोहीको वहानामा भुमाफियाहरुले सार्वजनिक शैक्षिक संस्थाको जग्गा हडप्न प्रयास गरेपछि महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन आन्दोलित विद्यार्थी, विभिन्न राजनीतिक दल, क्याम्पस प्रशासनसहित मिलेर वृहत सर्वपक्षीय संघर्ष समिति गठन गरिने भएको छ ।

आज बिहिबार क्याम्पस प्रशासनको आह्वानमा भएको भेलाले वृहत सर्वपक्षीय संघर्ष समिति गठन गर्ने सहमति बनेको हो । प्रशासनले सर्वपक्षीय बैठक डाके पनि आज विद्यार्र्थी संगठनहरु र राजनीतिक दलका प्रतिनिधिहरुको मात्र अत्यधिक उपस्थिति भएपछि बैठक पुनः भोली शुक्रबार बस्ने भएको छ । शुक्रबार नागरिक समाज, महिला सञ्जाल तथा विभिन्न संस्थाका प्रतिनिधिहरु, सुनसरी उद्योग वाणिज्य संघलगायत विविध संस्थाका प्रतिनिधिहरुसमेतलाई सहभागी गराएर सर्वपक्षीय संघर्ष समिति गठन गरिने स्ववियु सभापति एवं विद्यार्थी संगठनहरुद्धारा गठित क्याम्पसको जग्गा बचाउ संघर्ष समितिका संयोजक सरगम सागर चेम्जोंङले बताए ।

उनका अनुसार वृहत संघर्ष समितिको संयोजक क्याम्पस व्यवस्थापन समिति रहनेछ भने अन्य सबै संघसंस्था, नागरिक समाज, पत्रकार, बुद्धिजिविहरुलाई सदस्यकोरुपमा राखिनेछ । उक्त समितिले विभिन्न सरोकारवाला एवं सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाउनुका साथै जग्गा बचाउनको लागि पहल गर्ने, ध्यानाकर्षण गराउनेछ । आज बिहिबारको बैठकमा नेपाली कांग्रेसका नगरसभापति तिलक राई, सचिव श्याम पोख्रेल, पुर्वएमालेका नगर अध्यक्ष नारायण सुवेदी, नेकपाका प्रदेश कमिटि सदस्य अइन्द्रबिक्रम बेघा, पुर्वमाओवादी नगर संयोजक चोत्लुंङ, संघीय समाजवादी फोरमकी कार्यवाहक अध्यक्ष विना पुमा मगर, लिम्बूवानका सञ्जुहांग साँवा, मंगोल नेशनल अर्गानाइजेनशनका नगर अध्यक्ष लोकबहादुर राईलगायत प्राध्यापक, विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । विद्यार्थीहरुको संघर्ष समिति पनि अब बन्ने समितिको सदस्य रहनेछ ।

48079474_2043756355663310_2290434461851975680_n copy


क्याम्पसले २०३४ साल असार २ मा श्यामगोविन्द श्रेष्ठको नाममा भएको धरान ११, पानीटंकीस्थित १७ कट्ठा १८ धुर जमिन किनेको थियो । साविक धरान ९(क) को कित्ता नं २६६ को उक्त जग्गामा मोही डम्बरबहादुर घिमिरेको नाम उल्लेख थियो । चार दशकसम्म कसैले पनि मोही हक खोजी एवं दाबी नगरेको जग्गामा ४१ बर्षपछि मोही डम्बरबहादुरका माइला छोरा यज्ञबहादुरले हकदाबी गरेका छन् । उनले मोहीयानी हक दाबी गरेपनि करिब २० करोडको जग्गा हात पर्ने भएकोले जग्गा कारोबारीहरुको भित्रि चलखेल भएको क्याम्पस प्रशासन, विद्यार्थीहरुले बताउदै आएका छन् । वास्तविक मोही डम्बरबहादुर र उनकी श्रीमतिको निधन भइसकेको छ भने जेठा छोराको पनि मृत्यु भइसकेको छ ।

उक्त जग्गा क्याम्पसले खरीद गर्नुअघि नै घिमिरेले जग्गा जोतभोग गर्न छाडेको र क्याम्पसले लिएपछि पनि घिमिरे परिवारले जोतभोग नगरेको र कुत पनि नबुझाएको कारण मोही हकदाबी गर्न नमिल्ने क्याम्पस प्रशासनले दाबी गर्दै आएको छ । डम्बरबहादुरका माइला छोरा यज्ञबहादुरले गत कार्तिक १५ गते आफु हकवाला भएकोले मोही नामसारी गर्न वडा नं ११ कार्यालयमा निवेदन दिएका थिए । वडा कार्यालयले पनि क्याम्पसको उपस्थिति विना सर्जमिन मुचुल्का गरेको थियो भने मोही हक नामसारीको सिफारिश दिएपछि जनप्रतिनिधिको पनि चर्को आलोचना भइरहेको छ ।

तस्बिर स्रोत: अडिल खम्बू