धरानः नेपाल मगर संघको प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशन मंसिर २८ र २९ गते धरानमा हुने भएको छ । संघको प्रदेश नं १ संयोजन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै धरान–८ स्थित लाङघाली सामुदायिक वनको भवनमा प्रथम अधिवेशन गर्ने जानकारी दिएको हो ।

संघको प्रदेश संयोजन समिति गत असार ३० गते गठन भएको थियो । प्रथम अधिबेशनले ११ जना पदाधिकारीसहित २९ जना सदस्य चयन गर्ने समितिका संयोजक शारदा थापा मगरले बताइन् । उनका अनुसार अध्यक्षले १० प्रतिशत सदस्य मनोनयन गर्ने व्यावस्था रहेकोले प्रदेश समिति ४५ सदस्यीय हुने छ । अध्यक्ष पदमा धनकुटा र सुनसरीबाट दाबी परेको छ । ‘अध्यक्षसहित सबै पदाधिकारी सहमतिमा नै टुङग्याउने कसरतमा छौं,’ संयोजक मगरले भनिन् । संघीय संरचनाअनुसार संस्थाको ढाँचा परिवर्तनको लागि अधिवेशन गर्न लागिएको उनको भनाई छ ।

अधिवेशसनमा १ नम्बर प्रदेश अन्तर्गतका जिल्ला, जिल्ला समन्वय समिति, महानगर, उपमहानगर समितिका ३/३ जना प्रतिनिधि र १/१ पर्यवेक्षकहरुको सहभागीता रहने छ । त्यसैगरी, गाउँपालिका समितिका २/२ जना र १/१ जना पर्यबेक्षक गरी जम्मा ३ सय २५ जना प्रतिनिधि पर्यबेक्षकको सहभागीता रहने संयोजक मगरले बताइन् ।