तेह्रथुम: तेह्रथुमको म्याङलुङ नगरपालिकामा नगरबासीको प्रत्यक्ष सहभागिता हुने गरी नगरबासीसँग मेयर कार्यक्रम सुरु भएको छ ।

नागरिकका गुनासा, समस्या र सुझाव संकलन गर्न नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेसहितको टोली नगरपालिकाका टोल–टोलसम्म पुग्न थालेको हो । कार्यक्रम अन्तर्गत आज वडा नं. १ को कार्यालयमा वडाबासीहरुसँग छलफल तथा सार्वजनिक सुनुवाई भएको छ । नगरबासीका गुनासा, जिज्ञासा र सुझाव संकलन गर्न नगरका सबै वडा र टोलस्तरसम्म पुग्न थालेको नगरप्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताए ।

उनले नगरबासीसँग मेयर कार्यक्रम अन्तर्गत नै सबै वडामा गुनासो सुन्ने तथा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रम समेत आयोजना गरिएको बताए । नगरको विकासका लागि नगरबासीको सहभागिता सुनिश्चित गर्न यो कार्यक्रमले सहयोग पुयाउने उनको दाबी छ । नगरलाई भ्रष्टाचारमुक्त बनाई नमुना नगरपालिका बनाउने पनि मेयर सम्बाहाम्फेले बताए । म्याङलुङ नगरपालिकाले ‘नगरबासीसँग मेयर’ कार्यक्रम अन्तर्गत नगर क्षेत्रका ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई चालु आर्थिक वर्षमा थप आर्थिक सहायता उपलब्ध गराएको छ । नगर क्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्योपचारमा सहयोग पुयाउने हेतुले ८० नाघेका ज्येष्ठ नागरिकलाई २ हजार ५ सय रुपैयाँका दरले थप आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख सन्जय तुम्बाहाम्फेले बताए । नगरपालिकाले आज वडा नं. १ का ४० जना ८० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित सहयोग रकम उपलब्ध गराएको थियो । 

वडा कार्यालयमार्फत तथ्यांक संकलन गरी नगर क्षेत्रका सबै ज्येष्ठ नागरिकहरुलाई आर्थिक सहायता गर्न लागिएको नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगीले बताइन् । नगरपालिकाले वडा र टोलस्तरमा हुने कार्यक्रममार्फत सबै ज्येष्ठ नागरिकहरुलाई रकम वितरण गर्ने उनको भनाइ छ । कार्यक्रममा उपप्रमुख डाँगी, वडाध्यक्ष इन्द्रराज लिम्बु र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले लगायतले सहभागीले उठाएका जिज्ञासा र गुनासाहरुको सम्बोधन गरेका थिए । कार्यक्रममा वडा नंं. १ का अध्यक्ष लिम्बुले वडा कार्यालयमार्फत चालु आर्थिक वर्षमा सम्पादन भएका कार्यक्रम, योजना र गतिविधिकाबारेमा जानकारी गराए । उनका अनुसार वडा कार्यालयले पहिलो चौमासिकमा २० लाख रुपैयाँको योजना र कार्यक्रम सम्पन्न गरेको छ ।

अब ३० लाख रुपैयाँका योजना र कार्यक्रम कार्यान्वयन बाँकी रहेको वडाध्यक्ष लिम्बुले बताए । सोही कार्यक्रमम ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण समेत गरिएको छ । नगरपालिकाले पुस १ गतेबाट २१ गतेसम्म वडा र टोलस्तरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले पुष ५ गते वडा नम्बरं. ५ मा, पुष ६ गते वडा नम्बर ६ मा, पुष ८ गते वडा नम्बर ७ मा, पुष ९ गते वडा नम्बर ८ मा र पुष १० गते वडा नम्बर २ कालागि सम्बन्धित वडाका बासिन्दालाई पायक पर्ने स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको जनाएको छ । यस्तै पुष ११ गते वडा नम्बर ४ मा, पुष १४ गते वडा नम्बर ३ मा, पुष १६ गते वडा नम्बर ९ मा र पुष २१ गते वडा नम्बर १० मा सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागिएको नगरपालिकाले जनाएको छ ।