धरान : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान, जनसंख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेपनि सत्ता पक्षकै नेताहरुले प्रतिपक्षको भुमिकामा रहेको बताएका छन् ।

पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन धरान आएका मन्त्री यादवले कपुरीन्यूजसँगको भेटमा प्रतिपक्षको भुमिकामा सत्तापक्षकै नेताहरु बढी उफ्रिएको बताए । ‘सरकारमाथि कांग्रेसले प्रतिपक्ष भएर कहाँ प्रहार गर्न सकेको छ र, प्रतिपक्षको भुमिका हराएको छ, बरु सत्ता पक्षकै नेताहरु बढी उफ्रिरहेका छन्,’मन्त्री यादवले भने ।

दुई तिहाई सरकारको नेतृत्व गरिरहेको कम्युनिष्ट पार्टीभित्र वेमेल भएर त्यही पार्टीकाहरु प्रतिपक्षभन्दा उग्ररुपमा विरोध गरिरहेको यादवको भनाई थियो । प्रतिपक्षमा रहेका दलहरुले सरकारको आलोचना गर्ने र कमीकमजोरी देखाइदिने कर्तव्य भएको भन्दै यादवले कांग्रेसले आफ्नो कर्तव्य पनि पुरा गर्न नसकेको बताए । ‘अहिले प्रतिपक्षले आफ्नो कर्तव्य पनि पुरा गर्न सकिरहेको छैन । अवस्था यस्तो छ, तिनको भुमिका वरु सत्ता पक्षका केही नेताले निभाईदिएका छन्, उनीहरुलाई हाई सञ्चो भएको छ,’फोरम अध्यक्ष यादवले भने ।