इटहरी: राष्ट्रिय मावि इटहरी १ मा बुधबार बालबालिकासँग मेयर कार्यक्रम आयोजना भयो । इटहरीका मेयर द्धारिकलाल चौधरी कार्यक्रममा सहभागी भएका थिए ।

मेयर चौधरीलाई लक्षित गर्दै एक विद्यार्थीले सोधे,‘प्रोजेक्टरमार्फत पठनपाठन भए बुझन सजिलो हुन्थ्यो, त्यस्तो अवसर कहिले पाइएला मेयर सा’ब ?’ यो प्रश्नको जवाफ दिदै मेयर चौधरीले भने,'आगामी शैक्षिकसत्रमा यहाँको सबै कक्षाकोठामा प्रोजेक्टर मार्फत पठन पाठनको ब्यवस्था होस्, त्यसका लागि उपमहानगरबाट गर्नुपर्ने सहयोग गरिने छ ।'

यो जवाफ सुनेपछि बालबालिकाले खुशी हुदै ताली बजाए । कार्यक्रममा वालवालिकाले मेयर चौधरीलाई विभिन्न प्रश्न राखेका थिए । उनीहरुले पुस्तकालय र प्रयोगशाला(ल्याब)को ब्यवस्था गर्न पनि माग गरे । मेयर चौधरीले विद्यालय,उपमहानगर, प्रदेश सरकारको सहयोगमा पुस्तकालय र प्रयोगशाला स्थापनाका लागि पहल सुरु गर्न विद्यालयसँग आग्रह गरे । विद्यार्थीले माग गरेको डस्टविन उपमहानगरले उपलब्ध गराउने पनि उनले बताए भने विद्यालयलाई अपांगमैत्री शौचालय वनाउन पनि निर्देशन दिए ।

स्कुल आउदा बाटोको समस्या भएको पनि विद्यार्थीहरुले मेयर चौधरीसँग जिज्ञासा राखेका थिए । मेयर चौधरीले एक बर्षमा हिलोमुक्त र तीन बर्षमा धुलोमुक्त इटहरी बनाउने प्रतिवद्धता विद्यार्थीहरुसँग पनि दोहोर्याएका थिए । स्थानीय सरकार प्रमुखसँग प्रत्यक्ष सवाल जवाफ गर्न पाएकोमा विद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए ।

48393173_10214638624852050_8658069429197733888_n copy