तेह्रथुम: तेह्रथुममा जन्मिएर युकेमा कार्यरत तेह्रथुमेहरुको संस्था, तेह्रथुम समाज युकेले म्याङलुङ बहुमुखी क्याम्पसका लागि भवन निर्माण गरिदिएको छ ।

समाजले ११ लाख १८ हजार ६ सय ६७ रुपैयाँको लागतमा भवन निर्माण गरिदिएको हो । नवनिर्मित उक्त भवनको बुधबार एक कार्यक्रमका बीच प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाले उद्घाटन गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त समुदायस्तरबाट सन्चालित सो क्याम्पसकालागि तेह्रथुम समाज युकेले चार वर्षअघि नै भवन निर्माण गरिदिएको थियो ।

त्यसयता भवनको प्रयोग भइरहेको भएपनि औपचारिक उद्घाटन भने भएको थिएन । सो अवसरमा क्याम्पसले समाजका निवर्तमान अध्यक्ष खापुङलाई सम्मान समेत गरेको थियो । यस्तै समाजका तर्फबाट खापुङले क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश ढुंगानालाई समेत सम्मान पत्रसहित सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तेजमान कन्दङवाले अबको शिक्षा गुणस्तरीय र रोजगारमुलक हुनुपर्ने र त्यसकालागि शैक्षिक संस्था, प्रतिष्ठानहरुले ध्यान पु¥याउनुपर्ने बताए ।

campus (3)

उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तय गरेको २५ बर्षे योजना अन्तर्गत सबै नेपालीलाई रोजगारीको अवस्था सृजना गर्ने गरी प्रदेशस्तरमा समेत काम भइरहेको बताए । म्याङलुङ नगरपालिकाका प्रमुख सन्जयकुमार तुम्बाम्फे, नगर विकास बिज्ञ कृष्ण चोङवाङ, तेह्रथुम समाज युकेका निवर्तमान अध्यक्ष सुर्य खापुङ, सहायक प्रमुख जिल्ला अधिकारी प्रभात घिमिरे, म्याङलुङ क्याम्पस प्रमुख दधिराम न्यौपाने, साहयक क्याम्पस प्रमुख प्रकास ढुंगाना लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष किशोरचन्द्र दुलालको अध्यक्षतामा भएको थियो ।