इटहरी: गत मंसिर तेस्रो साता तरहराको जनसहयोग माविका शिक्षकबाट कुटिएका कक्षा ११ का विद्यार्थी १८ बर्षीय सञ्जय तामाङलाई शिक्षकले नै उपचार खर्च व्यहोर्ने भएको छ ।

विद्यालयका शिक्षक शिव राईले तामाङलाई गत मंसिर २४ गते कुटपिट गर्दा टाउकोमा टुटुल्को उठेको थियो । विद्यार्थी कुटिएको घटना गुपचुप राखिएको बिषयमा समाचार प्रकाशन भएपछि शिक्षक राई आफैले पीडित विद्यार्थीको उपचार खर्च व्यहार्ने भएका हुन् । पीडित विद्यार्थीलाई अभिभावकले न्यूरो अस्पताल विराटनगरमा लगेर उपचार गराएका थिए । अस्पतालको उपचार खर्च स्कूलले नव्यहोरेको बिषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि शिक्षक राई आफैले पीडित विद्यार्थीको घरमा पुगेर उपचाख खर्च आफुले व्यहोर्ने प्रतिवद्धता जनाएका हुन् ।

विद्यार्थीका बुबा कनुलाल घिसिङले शिक्षक आफै घरमा आएर उपचार खर्च व्यहोर्ने भनेको जानकारी दिए । ‘सर घरमै आएर सबै खर्च व्यहोर्छु भनेर गएका छन्,’ पीडित तामाङका बुबा कनुलालले भने,‘डाक्टरले ११ गते बोलाएको छ, त्यसपछि के भन्छ ।’ शिक्षक राईले मोवाइल सम्पर्क गरेर पनि निरन्तर आफ्नो छोराको स्वास्थ्यकोे बारेमा जानकारी लिइरहेकोले उपचार पाउने विश्वस्त रहेको उनले बताए । तामाङलाई टाउकोमा टुटुल्को उठ्ने गरी कुटपिट भएको र उपचारको लागि न्यूरो अस्पताल लैजादा पनि स्कुल प्रशासनले व्यवस्था गरेको समाचार प्रकाशन भएको थियो ।

विद्यालयमा हल्ला गरेको भन्दै शिक्षक राईले भित्तामा टाउको ठोकाइदिएको शिक्षक राईमाथि आरोप लागेको थियो । यता, विद्यालय प्रशासनले भने कुटपिटले टाउकोमा दाग देखिएको नभई तामाङको पुरानै रोग रहेको दाबी गर्दै आएको छ । तर, यसअघि कुनै पनि किसिमको रोग नलागेको र दाग नदेखिएको विद्यार्थीका अभिभावकहरुले बताउदै आएका छन् । ‘यसअघि कुनै पनि समस्या थिएन, ११ गतेको रिपोर्टपछि थाहा हुन्छ, के भएको भन्ने बारेमा,’बुबा कनुलालले भने ।