तेह्रथुम: आठराई गाउँपालिका–४, इवास्थित प्रणामी माध्यमिक विद्यालयको ६७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमहरुसहित आज सम्पन्न भएको छ ।

उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले आर्थिक वर्ष ०७४/७५ को ९४ लाख ९५ हजार १ सय ७८ रुपैयाँ आय र ७६ लाख ६७ हजार ६ सय ४४ रुपैयाँ व्यय रहेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य तेजमान कन्दङवाले विद्यालयको शैक्षिक विकासकालागि आफुले सबै ढंगले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले विद्यालयको खानेपानी व्यवस्थापनकालागि सांसद कोषबाट चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

बार्षिक उत्सवका अवसरमा विद्यालयले १५ जना अक्षयकोष दाताहरुलाई सम्मान समेत गरेको छ । उत्सवका अवसरमा आयोजित कविता वाचनमा प्रथम र द्धितीय क्रमशः रोशन मैनाली र सविन सिटौला, माविस्तरीय भलिबलतर्फ प्रणामी मावि विजेता र पोखरी मावि उपविजेता भएका छन् । यस्तै नृत्यतर्फ पोखरी मावि प्रथम, प्रणामी मावि द्धितीय र जनकल्याण आवि तृतीय भएका छन् । हाजिरिजवाफ प्रतियोगितामा पोखरी मावि प्रथम र प्रणामी मावि द्धितीय भएका विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ४ का अध्यक्ष श्यामकुमार भटराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।