काठमाण्डौँ : संघीय संसदको तेस्रो अधिवेशन बुधबार सुरु हुँदैछ । दिउँसो ४ बजेका लागी राष्ट्रपति विद्यादेवी भण्डारीले बजे अधिवेशनको नाममा समेत चिनिएको हिउँदे अधिवेशन भन्दै आह्वान गर्नु भएको हो ।

बुधबार बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउनु हुनेछ । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरूले मन्तव्य दिने कार्यसूची छ । बुधबारको बैठकमा प्रशासकीय अदालत विधेयक र कर्मचारी समायोजन अध्यादेश पेस हुनेछ ।

यसैगरी प्रतिनिधिसभाको दोस्रो बैठकमा संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने कार्यसूची तय गरिएको छ ।

यस्तै राष्ट्रियसभामा भने राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, विभिन्न राजनीतिक दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय भएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।