धरान: धरान उपमहानगरपालिका मातहतमा रहने नगर प्रहरीमा भर्ना भएका नगर प्रहरीहरुको बिहिबार दिक्षान्त गरिएको छ ।

उपमहानगर परिसारमा एक कार्यक्रम आयोजना गरी तालिम सम्पन्न गरेकाहरुलाई दज्र्यानी चिह्न प्रदानसँगै दिक्षित गरिएको हो । नगर प्रहरीमा २ जना असईसँगै २० जना भर्ना भएका छन् भने ६ जना वारुण यन्त्रमा रहेकाहरुलाई पनि दिक्षित गरिएको थियो । परीक्षामा उतीर्ण भएपछि नियुक्ती दिएर उनीहरुलाई ३ महिना तालिम दिइएको थियो । धरान १३ स्थित संघीय प्रहरी ईकाई कार्यालयले उतीर्ण भएकाहरुलाई प्रहरी तालिम दिएको थियो ।

nagar police 2

तालिम समापनपछि बिहीबार आयोजित दिक्षान्त समारोहमा उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी र संघीय प्रहरी इकाईका निमित्त प्रमुख डिएसपी भिम दाहालले दज्र्यानी चिह्न एवं प्रमाणपत्र दिएका थिए । सोही समारोहमा तालिममा सर्वोत्कृष्ट भएका असाई खड्गबहादुर बाँनियालाई नगदसहित पुरस्कार दिइएको थियो ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख भण्डारीले नगर कार्यपालिका, जनता र जनप्रतिनिधिप्रति उत्तरदायी र जिम्मेवार बन्न नगर प्रहरीलाई निर्देशन दिएकी थिइन् । धरानको २ लाख बढी जनसंख्यालाई सुरक्षाको जिम्मेवारी आइलागेको भन्दै उनले इमान्दारिताका साथ काम गर्न सुझाव दिइन् । ‘कार्यपालिकाको निर्णय, ऐन कानुनलाई कार्यान्वयन गराउने जिम्मेवारी छ । फुटपाथ, बजार व्यवस्थित गर्ने, जमिन अतिक्रमण अटाउने, व्यवस्थित गर्ने काम र जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्नुपर्छ,’उनले भनिन् ।

यस्तै, संघीय प्रहरी इकाईकय डिएसपी भिम दाहालले नगर प्रहरीलाई नेपाल प्रहरीले तालिम दिएको हुनाले इमान्दारिकता र कर्तव्यनिष्ठ भएर काम गर्न आग्रह गरे । प्रहरीसँग सहकार्यमा रहेर काम गर्न आग्रह गर्दै उनले भने,‘प्रहरीले तालिम दिएको हो, त्यसैले तपाईहरुले केही नराम्रो काम गर्दा हामीलाई पनि असर पर्छ । तपाईहरु प्रहरीको पनि निगरानीमा हुन्छ, सहकार्य हुनुपर्छ । कर्तव्य पालनामा तलमाथि हुनुहुदैन ।’

उपमहानगरपालिकाले प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहितको भर्ना प्रक्रिया थालेपनि नियुक्ती भने २ असईसहित २० जना प्रहरीले मात्र पाएको थियो । प्रहरी निरीक्षक भर्ना प्रक्रियामा भने योग्यता नपुगेको भर्ना प्रक्रियामा अघि बढेको खुलेपछि स्थगित गरिएको थियो । भर्ना भएकामा ६ जना महिलाहरु संगीता लिम्बू, अस्मिता जिमी, एलिसा राई, एलिना सापकोटा, कविता कार्की र मिना कुलुङ छन् ।