पथरी:  मोरङको पथरीशनिश्चरे १ स्थित सुनाखरी माविका १ सय जना विद्यार्थीका लागि स्वेटर वितरण गरिएको छ ।

 विहिवार विद्यालयमा कार्यक्रम गरेर विद्यार्थीहरुलाइ स्वेटर वितरण गरिएको हो । वडा नं १ कार्यालयको १६ हजार ४ सय र विद्यालयको अक्षयकोषबाट १० हजार गरी २६ हजार ४ सय रुपैयाँ वरावरको स्वेटर खरीद गरी वितरण गरिएको हो । कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो । विद्यालयले आफ्नो स्थापनाको २५ औं वर्ष पार गरेको अवसरमा आयोजना हुने ३ दिने कार्यक्रम गर्ने पनि जानकारी दिएको छ । 

पथरीशनिश्चरे वडा नम्वर १ वडाध्यक्ष बाबुराम एङ्देन, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार चाम्लिङ, लोक गायक वीरध्वज शिवा, विद्यालयको अक्षयकोषका संरक्षक प्रदीपकुमार राई सहितले स्वेटर वितरण गरेका हुन् । सो विद्यालयका समाजसेवी प्रदिपकुमार राईको अगुवाईमा १५ लाख ६६ हजार रुपैयाँको अक्षयकोष खडा भएको छ । ३ सय जना विद्यार्थी रहेको विद्यालयमा कक्षा ४ सम्म अग्रेजी माध्यममा पठनपाठन थालिएको छ । 

देश विदेशमा रहेका दाताहरुले कम्युटर खरिद गरिदिएपछि पठनपाठनमा थप गुणस्तरीयता वढेको छ । तर शिक्षक र कर्मचारीको कम संख्यामा दरवन्दी रहँदा नीजि स्रोतबाट वार्षिक ६ लाख ७० हजार वढी रकम जुटाउन विद्यालयलाई समस्या हुँदै आएको छ । ०४९ मा स्थापित विद्यालयले शुक्रवार देखि  विभिन्न कार्यक्रम गरी रजतजयन्ती मनाउने भएको प्रधानाध्यापक केशवप्रसाद लामिछानेले जनाए ।