धरान : धरानको अग्रणी शैक्षिक संस्थाहरुमध्ये एक युरेका आवासिय माध्यमिक विद्यालयले स्थापनाको २५ औं बार्षिकोत्सव तथा रजत जयन्ती सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ ।

विद्यालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी पुष १४ गतेदेखि २१ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गरी रजत जयन्ती मनाउने जानकारी दिएको हो । विद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार गुरुङले पुष १४ गते वाकाथनसहित सप्ताहव्यापी कार्यक्रमको समुद्घाटन गरिने जानकारी दिए । वाकाथन धरान २ सिंहदेवी चोकबाट हुनेछ ।

यस्तै, पुष १५ गते आधुनिक शिक्षा र शिक्षण शैली सम्बन्धी आमन्त्रित बिशेषज्ञहरुसँग अन्र्तक्रिया आयोजना गरिने प्रिन्सिपल गुरुङले बताए । उक्त अन्तरक्रियामा प्रदेश नं १ का ४० भन्दा बढी शिक्षाविदहरु सहभागी हुनेछन् । ‘त्यो कार्यक्रमको निष्कर्षलाई प्रदेश र स्थानीय सरकारलाई बुझाउछौ, त्यसले शिक्षा नीति बनाउन महत्वपुर्ण सहयोग पुग्ने आशा गरेका छौ,’उनले भने । यसैगरी, पुष १६ गते प्राथमिक तहको स्पेलिङ र माध्यमिक तहको कोलाज प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ । ‘यो प्रतियोगितामा धरानभरिका ३५ विद्यालयहरुले सहभागीता जनाउनेछन्, विजेतालाई ट्रफी पुरस्कार दिइनेछ,’प्रिन्सिपल गुरुङले भने ।

यस्तै, पुष १७ गते विद्यालयमा पढिरहेका विद्यार्थीहरुसँग हजुरबा हजुरआमासँग भेटघाट कार्यक्रम आयोजना हुनेछ । उक्त भेटघाट कायक्रममा हजुरबा हजुरआमालाई मनपर्ने सांगीतिक तथा साँस्कृतिक मनोरञ्जन प्रदान गरिनेछ भने मठमन्दिरको भ्रमण पनि गराइने प्रिन्सिपल गुरुङले बताए । यस्तै, हजुरबा हजुर आमालाई सम्मान पनि गरिनेछ । यसैगरी, १८ गते भूपू शिक्षक, कर्मचारी तथा भूपू विद्यार्थीहरुको भेटघाट कार्यक्रम एवं रात्री भोज राखिएको छ । पुष १९ गते युरेका स्कुलमा बिहानै रक्तदान कार्यक्रम हुनेछ भने २० गते कक्षा प्ले ग्रुपदेखि कक्षा ५ सम्मको साँस्कृतिक कार्यक्रम सभागृहमा आयोजना हुनेछ ।

यसैगरी, पुष २१ गते कक्षा ६ देखि माथिको साँस्कृतिक कार्यक्रमसँगै सप्ताहव्यापी कार्यक्रमको समापन सभागृहमा गरिने विद्यालयले जानकारी दिएको छ । ‘हामीले समयानुकुल शिक्षण सिकाई क्रियाकलापमा जोडदिएका छौ, बालमैत्री एवं मनोवैज्ञानिक शिक्षण सिकाईमा पनि जोडदिएका छौ,’प्रिन्सिपल गुरुङले विद्यालयको सफलताबारे भने,‘अनुभवी शिक्षकहरुलाई बिषयत शिक्षण तालिम दिइरहन्छौ । अभिभावकसमेतलाई विज्ञहरुद्वारा बेलाबेला अभिमुखीकरण तथा त्रिपक्षीय अन्र्तक्रिया गराउछौ । विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय प्रशासनबीच छलफल गरी निष्कर्षमा पनि पुग्छौ ।’

विद्यार्थीहरुलाई सामाजिक दायित्वबोध गराउने कार्यक्रममा सहभागी गराउनु, सामाजिक नैतिक मूल्यमान्यता प्रति अनुशासित बनाउँदै लैजानु, समाज र देशप्रति उत्तरदायित्व बोध गराउँदै मानवीय भावनाको विकास गराउनु, प्रविधीको विकास सँगै कम्प्युटरलाई अनिवार्य शिक्षामा समावेश गर्नु र विज्ञान प्रयोगशालाको राम्रो प्रबन्ध मिलाउनु, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको प्रबन्ध गर्नु साथमा फिटनेसका लागि कराते, नृत्य तथा कलाकारिताको लागि विज्ञहरुद्वारा नियमित आर्ट क्लास सञ्चालन गराईनुले युरेकाको  लोकप्रियता बढ्दै गएको प्रधानाध्यापक गुरुङले बताएका छन् । साथमा समय अनुकूल शिक्षण सिकाइ क्रियाकलापमा जोड, बालमैत्री एवं मनोवैज्ञानिक शिक्षण सिकाइ सञ्चालन हुने बताइएको छ ।