काठमाडौं : रौतहटको कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहा शनिबार काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर गृहनगर पुगेका छन् ।

मेयर कुशवाहा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहितको जन्मकैदको सजायमा सर्वोच्च अदालतले शुक्रबार सफाइ दिएको थियो ।

न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले हिन्दू युवा सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका उनलाई शुक्रबार सफाइ दिएको हो । शुक्रबार सर्वोच्च अदालतबाट सफाइ पाएका मेयर कुशवाहा हेलिकप्टर चार्टर गरेरै कटहरिया पुगेका थिए । उनलाई स्वागत गर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो ।

त्यस्तै कटहरिया नगरपालिकाले शनिबार एउटा सूचना प्रकाशित गर्दै मेयरले सफाइ पाएको खुशियालीमा आइतबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ । कुशवाहालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले तिवारीको हत्याको अभियोगमा जन्मकैदको फैसला सुनाएको थियो । तिवारीको २०६७ असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।