धरान: स्थापनाको करिब ५ दशकपछि नेपाल पत्रकार महासंघ सुनसरीको आफ्नै भवन स्थापना भएको छ । धरान १३, अमरहाटस्थित महासंघ भवनको आइतबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले औपचारिकरुपमा उद्घाटन गरेका थिए ।

हुन त यो भवनमा २०७१ सालदेखि नै पत्रकार महासंघ सुनसरीको कार्यालय सञ्चालनमा रहेको थियो । कार्यसमितिको बैठक यही भवनमा हुने गरेपनि पुर्णरुपमा व्यवस्थित हुन सकिरहेको थिएन । अहिले नयाँ सभाहलसहित कार्यालय व्यवस्थित गरेर आइतबार महासंघ भवनको उद्घाटन गरिएको हो । सभाहलको लागि व्यापारिक संस्था इन्द्र बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिले संस्थापक स्वर्गीय इन्द्रबहादुर लामिछानेको स्मृतिमा सभाहल निर्माण गरिदिएको थियो भने भवनको लागि धरान फुटबल क्लब, धरान उपमहानगरपालिका, सञ्चार मन्त्रालयबाट पनि केही बजेट आएको महासंघ सुनसरीले जनाएको छ ।

sUntitled-1 copy

सुनसरीमा पत्रकार महासंघले स्थापना भएको झण्डै ५ दशकपछि मात्र आफ्नै कार्यालय भएको भवन पाएको हो । २०७१ सालमा अमर सेवा समाजले सञ्चालन गर्दै आएको भवनलाई नगरपालिका, राजनीतिक दलको पहलमा पत्रकार महासंघको कार्यालय राख्न दिइएको थियो । २ वटा कोठा भएको भवनमाथि अहिले सभाहल निर्माण भएको हो । त्यसको लागि बराहले साढे १५ लाख रुपैया सहयोग गरेको छ । ‘यहाँ ३०, ३१ सालतिर पत्रकार संघ गठन भएको थियो । यही सुनसरी पत्रकार संघको व्यवस्थापनमा हात्तिसारमा भएको साधारणसभाले पत्रकार संघलाई महासंघ बनाएको इतिहास पनि छ, तर यही सुनसरीको पत्रकार महासंघ आफ्नै कार्यालय भएको भवन बनाउन ५० बर्ष लाग्यो,’महासंघका पुर्वकेन्द्रीय उपाध्यक्ष एवं अग्रज पत्रकार हर्ष सुब्बाले भने,‘अब महासंघले यो भवनलाई उपभोगी बनाउनुपर्छ । बौद्धिक गतिविधि बढाउने काम गर्नुपर्छ ।’

मुख्यमन्त्री राईले महासंघको भवन निर्माण पुरा गर्न प्रदेश सरकारबाट सहयोग हुने आश्वासन दिए । प्रदेश महासंघसँग सहकार्य गरेर सबै जिल्लाको पत्रकार महासंघलाई पुर्वाधार सम्पन्न बनाउन सहकार्य हुने पनि उनले बताए । ‘प्रस्ताव ल्याएर आउनुस्, सके यही आर्थिक बर्षमा, नत्र अर्को आर्थिक बर्षमा बजेट विनियोजन गछौ,’मुख्यमन्त्री राईले भने । मुख्यमन्त्री राईले पत्रकार महासंघको भवन रिबन काटेर उद्घाटन गरेका थिए भने इन्द्र बराह स्मृति सभाहलको पनि उद्घाटन गरेका थिए ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतमा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेल, प्रदेश सांसद उमिता बराइली, पुर्वमेयर मनोज मेन्याङ्बो, अग्रज पत्रकार हर्ष सुब्बा, बराहका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे, वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, महासंघ सुनसरी उपाध्यक्ष सन्तोष काफ्लेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । महासंघ अध्यक्ष खड्काले साधारणसभाको अवसरमा आजदेखि सुनसरीमा सप्ताहव्यापी कार्यक्रम शुरु भएको खुलाउदै सहभागिताको लागि पनि सबैका आग्रह गरेका थिए । 

सहयोगी एवं दाताहरुलाई सम्मान

aIMG_8506

पत्रकार महासंघ सुनसरीले कार्यालय भवन हस्तान्तरण तथा भवन थप निर्माणमा सहयोग पुर्याउने संस्था, व्यक्तित्वहरुलाई सम्मान गरेको छ । भवन उद्घाटन समारोहमा महासंघले सहयोगी संस्थाहरु अमर सेवा समाज, धरान उपमहानगरपालिका, महासंघका पुर्र्वअध्यक्ष केशव घिमिरे, कृष्ण विनोद लम्साल, कृष्ण अधिकारी, पुर्वकेन्द्रीय सदस्य निलिफा सुब्बा, बराह प्रालि, धरान फुटबल क्लब, बराहका प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटेलगायतलाई सम्मान गरेको हो ।

पञ्चायतकालमा अफिसर्स हलकोरुपमा रहेको सो एक तले भवनमा पत्रकार महासंघलाई हस्तान्तरण गरिएको थियो । सोही भवनको माथिल्लो तलामा कार्यालय तथा सभाहल निर्माण गरिएको छ । प्रमुख अतिथि एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सबैलाई सम्मान पत्र प्रदान गरेका थिए ।

IMG_8471 copy