धरान: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका कुनै पनि घटना हुन नदिने, सुनसरी जिल्लालाई नेपाल पत्रकार महासंघको ऐतिहासिक जिल्ला घोषणा गर्दे यो इतिहास केन्द्रीय समितिको प्रतिवेदन तथा दस्तावेजहरुमा समावेश गराउन पहल गर्नेलगायत विभिन्न १४ बुँदे प्रतिवद्धता जारी गर्दै नेपाल पत्रकार महासंघ सुनसरीको ११ औं बार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ ।

धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको साधारणसभाले नेपाल पत्रकार सङ्घलाई नेपाल पत्रकार महासङ्घमा रुपान्तर गर्दा सुनसरीको धरानमा केन्द्रीय सम्मेलन भएको कारण यो जिल्ला महासंघलाई ऐतिहासिक जिल्ला घोषणा गर्ने र केन्द्रीयस्तरमा पहल गर्ने प्रतिवद्धता पनि जारी गरेको छ । यसैगरि, पत्रकार महासंघ सुनसरी शाखालाई उत्कृष्ट शाखा बनाउन, सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता गर्न, पत्रकार महासंघको सदस्यता सुद्धिकरण र सुदृढीकरण गर्नेलगायतको बुँदासहित प्रतिवद्धता सो साधारणसभाले जारी गरेको छ ।

aaaIMG_8677

महासंघका जिल्ला अध्यक्ष अमर खड्काले प्रतिवद्धता पत्रमा भएका बुँदलाई इमान्दारीताका साथ कार्यान्वयन गर्न पहल गर्ने बताए । ‘बन्द सत्रले पारित गरेको प्रद्धिवता पत्रलाई लागु गर्न, कार्यान्वयन गराउन महासंघ नेतृत्वले निरन्तर पहलकदमी गर्नेछौ,’अध्यक्ष खड्काले भने । साधारणसभाको उद्घाटन सत्रका प्रमुख अतिथि एवं पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगरले सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्न सबैले पाउनु पर्ने भन्दै सक्रिय पत्रकारहरुको सुरक्षामा महासंघ जहिल्यै पनि तत्पर रहने बताए । साथै, प्रेस स्वतन्त्रतता हनन् हुने खालका ऐन, कानुन सच्याउन महासंघ सधै लागिपर्ने उनको भनाई थियो ।

उद्घाटन सत्रलाई महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सिना, प्रदेश महासचिव विवेक गौतम, धनकुटा महासंघका अध्यक्ष राजेश्वरमान श्रेष्ठ, पुर्वकेन्द्रीय सदस्य किसोरकुमार कार्की, पुर्वजिल्ला अध्यक्ष कृष्णअधिकारी, निवर्तमान अध्यक्ष केशव घिमिरे, सल्लाहकार जनकऋर्षि राईलगायतले पनि सम्बोधन गरेका थिए ।

aaaIMG_8668


यी हुन्, बन्दसत्रले पारित गरेको प्रतिवद्धता पत्रका बुँदाहरु

१. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका कुनै पनि घटना हुन नदिन सचेत रहँदै कुनै व्यक्ति, समूह तथा पदाधिकारीलाई यसका निम्ति सचेत गराउन क्रियाशील रहनेछौँ ।

२. नेपाल पत्रकार सङ्घ, नेपाल पत्रकार महासङ्घमा रुपान्तर भएको सुनसरी जिल्लालाई नेपाल पत्रकार महासङ्घको ऐतिहासिक जिल्ला घोषणा गर्दै सुनसरीको यो गौरवशाली इतिहास केन्द्रीय समितिको प्रतिवेदन तथा अन्य दस्तावेजहरूमा समावेश गराउन पहल गर्नेछौँ ।

३. सुनसरी शाखालाई नेपाल पत्रकार महासङ्घको उत्कृष्ट शाखा बनाउन प्रतिबद्ध छौँ ।

४. सामाजिक उत्तरदायित्यसहितको जिम्मेबार पत्रकारिता गर्न प्रतिबद्ध छौँ ।

५. पत्रकार आचारसंहिता पालना तथा व्यावहारिक कार्यान्वयमा प्रतिबद्ध छौँ ।

६. पत्रकार महासङ्घको सदस्यता शुद्धीकरण तथा सुढृढीकरणका निम्ति प्रतिबद्ध छौँ ।

७. विज्ञापनमा अस्वस्थ प्रतिष्पर्धा हटाउँदै ‘स्थानीय विज्ञापन स्थानीय सञ्चार–माध्यमलाई’ भन्ने नीति लागू गराउन प्रतिबद्ध तथा क्रियाशील रहनेछौँ ।
८. पत्रकारिताको समयसापेक्ष दक्षता अभिवृद्धि, सीप विकास एवम् प्रविधि प्रयोग गर्न–गराउन प्रतिवद्ध छौँ ।

९. श्रमजीवी पत्रकार ऐनको व्यावहारिक कार्यान्वयनका निम्ति प्रतिबद्ध छौँ ।

१०. बिटगत पत्रकारिताको विकासका लागि पहल गर्न प्रतिबद्ध छौँ ।

११. जिल्लाका सबै स्थानीय तहमा प्रेसमैत्री सञ्चार नीति निर्माण तथा कार्यान्वयन गर्ने वातावरण सिर्जनाका लागि प्रतिबद्ध छौँ ।
१२. पत्रकारिताको पेसागत सुरक्षाको वातावरण सिर्जनाका निम्ति एकताबद्ध छौँ ।

१३. पत्रकार कल्याण कोष सफल कार्यान्वयनका निम्ति सहयोग गर्नेछौँ ।

१४. महासङ्घ सुनसरी शाखाको काम–कारबाही अझ बढी पारदर्शी र समावेशी बनाएर सञ्चालन गर्न–गराउन प्रतिबद्ध छौँ ।