धरान: बिहिबार धरानमा सम्पन्न नेपाल पत्रकार महासंघ सुनसरीको ११ औ बार्षिक साधारण सभामा गैरपत्रकारहरुको सदस्यता खारेजी गर्नुपर्ने माग चर्कोरुपमा उठ्यो ।

साधारण सभाको उद्घाटन सत्रमा अतिथि वक्ताहरुले पत्रकारहरु विदेश गएका र सक्रिय पत्रकारिता छोडेकाहरुको सदस्यता खारेज गरेर सुद्धिकरण गर्नुपर्ने भन्दै महासंघको प्रदेश र केन्द्रीय समिति नेतृत्वको ध्यानाकर्षण गराएका थिए । प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले पत्रकारको परिचय दिन पनि समस्या भइरहेको भन्दै सुद्धिकरण गर्नुपर्नेमा जोडदिए । ‘म पत्रकार हुँ भनेर भन्न पनि लाज मान्नुपर्ने अवस्था छ,’अतिथि वक्ताकोरुपमा पुरीले भने,‘महासंघले गम्भीररुपमा बहस गर्नुपर्छ, सुद्धिकरण नगर्ने र भोट बैंककोरुपमा गैरपत्रकारहरुलाई राखिराख्ने हो भने पत्रकारिता सुद्ध हुनसक्दैन ।’ गैरपत्रकारहरुको सदस्यता खारेज हुदा आफ्नो संगठनले सहर्ष स्वीकार गर्ने पनि उनको भनाई थियो ।

यस्तै, प्रेस चौतरी सुनसरीका अध्यक्ष शेखर ढकालले पनि भोट बैंककोरुपमा गैरपत्रकारहरुलाई महासंघले राखिरहन नहुने भन्दै सुद्धिकरण गरेर जान आग्रह गरेका थिए । उनले भने,‘कति विदेशमा छन्, कति सक्रिय पत्रकारिता नै छोडिसकेका छन्, तर भोट हाल्ने बेला मात्र आउछन् । महासंघले सुद्धिकरण गर्नुपर्छ ।’ यी दुई अतिथि वक्ताहरुले सुद्धिकरणको आवाज चर्कोरुपमा उठाएपछि अन्य वक्ताहरुले पनि बिषय उठिसकेको भने, तर दोहोर्याएनन् ।

aaaIMG_8674

अतिथि वक्ताहरुले सुद्धिकरणको मुद्दा चर्कोरुपमा उठाएपछि पत्रकार महासंघ प्रदेश कमिटिका महासचिव एवं संगठन विभाग प्रमुख विवेक गौतमले पत्रकारिताको पेशगात मर्यादा जोगाउन सुद्धिकरणमा जान आवश्यक भएको भन्दै जिल्लाबाट प्रस्ताव गरेमा प्रदेश समितिले निर्णय गर्ने बताए । महासंघको सदस्यता वितरण र नवीकरण प्रदेश कमिटिलाई अधिकार छ । हालै विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले पनि सदस्यता सुद्धिकरण गर्ने संकल्प लिएको उनले बताए । ‘प्रदेश १ मा १४५४ पत्रकार सदस्यहरु छौ, तर सक्रियरुपमा मात्र ५, ६ सय छौ,’उनले भने,‘प्रश्न गर्ने पत्रकारहरुलाई आज समाजले नै प्रश्न गरिरहेको छ, त्यसैले पेशगात मर्यादा जोगाउन सुद्धिकरण आवश्यक छ ।’

साधारणसभाका प्रमुख अतिथि रहेका केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगरले भने यो बिषयमा बोलेनन् । तर, उनी भन्दा अघि मन्तव्यकोक्रममा केन्द्रीय सदस्य उद्धव तिम्सिनाले भने सुद्धिकरण गर्न सम्भव नभएको बताए । उनका अनुसार वर्तमान सञ्चार मन्त्री गोकुल बास्केटा र स्वास्थ्य राज्यमन्त्री डा.सरोजकुमार यादव पनि पत्रकार महासंघको सदस्य हुन् । केन्द्रीय समितिमा दुवैको सदस्यता खारेज गरौ न भन्ने छलफल हुदा सम्भव नै नभएको उनको भनाई थियो । ‘सदस्यता खारेज गर्ने प्रावधानै रहेनछ । जबसम्म पत्रकारिता छोडेका, विदेश गएका र सदस्य भएका गैरपत्रकारहरुलाई पनि भेला गरेर ससम्मान तपाईहरुले अब सदस्यता छोडिदिनु पर्यो भन्नुबाहेक अरु कुनै उपाय छैन,’केन्द्रीय सदस्य तिम्सिनाले भने । उनले सुद्धिकरण गर्न जिल्ला नेतृत्वले पहल गर्दा चौतारी, युनियन, क्रान्तिकारी पत्रकार संघलगायत संगठनहरुले नै भोट घट्ने भन्दै विरोध गर्ने भएकोले सम्भव नहुने उनको भनाई थियो ।

कस्ले खादैछ सञ्चार क्षेत्रको बजेट ?

aaaIMG_8670

केन्द्रीय सदस्य तिम्सिनाले आफ्नो मन्तव्यको क्रममा अर्को गम्भीर बिषय पनि उठाएका थिए । प्रदेश नं १ को गाउँपालिका, नगरपालिकाहरुमा छुट्याएको बजेट हिसाब गर्दा एक जना पत्रकारको भागमा १ लाख १२ हजार बराबर पर्ने हात पर्ने तर त्यो बजेट कस्ले उपभोग गरिरहेको छ भन्दै प्रश्न उठाएका थिए । त्यो प्रश्नको उत्तर आफै दिदै पत्रकार नेता तिम्सिनाले भने,‘त्यो बजेट कस्ले खाइरहेको छ? त्यो हाम्रै पेशामा भएका साथीभाईहरुले खाइरहेका छन् । त्यसरी हाम्रो पेशा वदनाम भइरहेको छ ।’सञ्चार क्षेत्रमा छुटिएको बजेट सहीरुपमा सदुपयो गर्न आग्रह गर्दे उनले पेशागत मर्यादा, आचारसंहितामा रहेर पत्रकारिता गर्न आग्रह गरे ।