भोजपुर: स्वास्थ्यसम्बन्धी जिल्लाको स्थानीयस्तरमा विभिन्नखाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालीम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो । वान हर्ट वल्ड वाइडले सन् २०१६ को फेब्रुवरी महीनादेखि आमा र बच्चाको लागि सुरक्षा सञ्जाल नामक परियोजना सञ्चालन गरेपछि जिल्लाका आठ स्थानीय तहको ११ स्वास्थ्य संस्थालाई बोकेर हिँड्न मिल्नेखालको भिडियो एक्सरे मेसिन र तालीम दिइएको छ भने ३५ प्रसूति कक्षमा सहयोग पु¥याउँदै आएको छ ।

वान हर्ट वल्ड वाइड भोजपुरका जिल्ला संयोजक रबीन जोशीले जिल्लाको आम्चोक गाउँपालिकालाई भने यस वर्षदेखि सो सेवा प्रदान गर्नका लागि मेसिन र तालीम सहयोग गरिने बताए । घुम्ती शिविरमार्फत आम्चोक गाउँपालिकामा १११, पौवादुङमा गाउँपालिकामा २२, भोजपुर नगरपालिकाबाट ६३ जनाले भिडियो एक्सरे सेवा लिएका छन् । आम्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक महिनारायण चौधरीले यो सेवा विस्तार भएपछि स्वास्थ्य संस्थामा गर्भवती जाँच र सुत्केरी हुने सङ्ख्यामा वृद्घि भइरहेको बताए ।