उदयपुरः जिल्लाको सदरमुकाम गाईघाटमा रहेको जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ ।

जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहित २ चिकित्सक डा. पवन साह र डा. विशाल देव सरुवा भएर गएपछि जिल्ला अस्पताल उदयपुरमा प्रसूति सेवासम्बन्धी उपचार ठप्प हुँदै आएको हो ।

जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. बिष्णुबहादुर बस्नेतका अनुसार सम्बन्धित निकाय तथा मन्त्रालयमा समेत जिल्ला अस्पतालमा स्त्री विशेषज्ञको अभाव हुँदा बिरामी मारमा परेको जानकारी गराइसके पनि अहिलेसम्म अर्को चिकित्सक व्यवस्थापन हुन सकेको छैन ।

उदयपुर जिल्ला अस्पतालमा मात्र शल्यक्रियासहितको प्रसूति सेवा उपलब्ध हुँदै आएको थियो ।

जिल्ला अस्पतालमा डेढ महिनादेखि प्रसूति चिकित्सकको अभावमा प्रसूति सेवा नै बन्द हुन पुगे पनि सम्बन्धित निकाय र मन्त्रालयको भने उचित ध्यान जान नसक्दा जिल्लावासी कष्ट भोग्न बाध्य छन् ।