इटहरी : इटहरी उपमहानगरको स्वास्थ्य क्षेत्रको संस्थागत क्षमता अभिवृद्धिका लागि अभियान थालिएको छ ।

संघीय सरकार अन्तरगत स्वास्थ्यमन्त्रालयको पहलमा अभियान थालिएको हो । जसअन्तरगत स्वास्थ्य क्षेत्रको सस्थागत क्षमता विकासका लागि पाँच दिने तालिम सुरु गरिएको छ । सात प्रदेशका सात ठाँउमा गर्न लागिएको तालिम अन्तरगत प्रदेश नम्वर १ को इटहरीमा तालिम आयोजना गरिएको मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक सरोज न्यौपानेले जानकारी दिए । तालिममा इटहरी स्थित सरकारी स्वास्थ्य सस्थाका प्रमुखहरु,ब्यवस्थापन समिति अध्यक्षहरु, इटहरी उपमहानगरका फाँट प्रमुख लगायतको सहभागिता रहेको छ ।

तालिममा अहिलेको अवस्था के छ र अव तीन बर्षमा कस्तो हुने छ ? इटहरीको स्वास्थ्य क्षेत्रको सुदृढिकरणको कार्य योजना निर्माण गरिने छ । तालिममा कविराज खनाल, मुकुन्दराज गौतम, डा. इन्दिरा वस्नेत र सरोज न्यौपानेले सहजिकरण गरेका छन् । तालिमको उद्घाटनका अवसरमा इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम र प्रदेश नम्वर १ का स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलले यो तालिमपछि स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिमा प्रदेश नम्वर १ कै नमूनाको रुपमा इटहरी अघि वढने अपेक्षा ब्यक्त गरे ।

उक्त तालिम पछि मन्त्रालयले हालै तय गरेको स्वास्थ्य संस्थाहरुको सेवाको न्यूनतम स्तर इटहरीमा कार्यावन्यन गराउँन कार्यक्रम गरिने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तरगत संचालित नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमका प्रमुख सल्लाहकार कविराज खनालका अनुसार मन्त्रालयको टोली दुई हप्ता पछि इटहरी आउने छ । टोलीले प्रत्येक स्वास्थ्य सस्था पुगेर त्यहाँको सेवाको स्तर अध्यन गरेर मन्त्रालयले तयार गरेको स्तर कार्यावन्यन गराउन अध्ययन गर्नेछ ।