धरान : धरान १३ को जानकी सामुदायिक टोल सुधार समितिले महिलाहरुलाई लक्षित गरी पुष २८ गते निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

समितिले देउसी खेलेर संकलन भएको ६० हजार रुपैयाँ रकमले वडाका महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको हो । धरान–१३ नम्बर वडा कार्यालयले संयोजन गर्ने शिविरमा महिलाको पाठेघर सम्बन्धीका समस्याहरुका बारेमा चेकजाँच तथा परामर्श दिइने विहीबार पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप श्रेष्ठले बताए । शिविरबाट ३ सय जना भन्दा बढी सहभागी हुने अपेक्षा लिइएको उनले बताए । बीपी कोइराला स्वास्थ्य विज्ञानका स्त्री रोग विशेषज्ञ चिकित्सक डा. पप्पु रिजाल, डा. तुलसा बस्नेतले शिविरमा जाँच गर्नेछन् ।

WADA 13 copy
शिविरमा निःशुल्क औषधि समेत वितरण गर्ने योजना रहेको आयाजकले जनाएको छ । त्यसको लागि नेपाल औषधि व्यवसायी संघसँग समन्वय भइरहेको पनि जानकारी दिइयो । टोल विकास संस्थाहरु सक्रिए भएर सामाजिक सेवामा लाग्दा वडालाई पनि ठुलो सहयोग पुग्ने धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । ‘समाजले गरेको प्रशंसनीय कामलाई प्रोत्साहित गर्दै धरान उपमहानगपालिकाको स्वास्थ्य विभागबाट केही औषधि निःशुल्क दिन आग्रह गरेका छौं,’ उनले भने । शिविरका लागि वडाबाट १५ हजार रपैयाँ आर्थिक सहयोग गर्ने उनले बताए ।