धरान : देउसी खेलेर संकलित रकमले धरान–१३ स्थित जानकी सामुदायिक टोल सुधार समितिले महिलाहरुको लागि शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

देउसीबाट संकलित ६० हजार रुपैयाँले वडा कार्यालय परिषरमा एक दिवशीय महिलाको पाठेघर सम्बन्धिको शिविर गरिएको हो । शिविरमा वडाका १ सय ९ जना महिलाले चेकजाँच गराएको समितिका अध्यक्ष दिलीप श्रेष्ठले बताए ।

शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञानका स्त्री रोग विशेषज्ञ डा. पप्पु रिजाल, डा. तुलसा बस्नेतले चेकजाँच गरेका थिए । शिविरमा महिलाहरुमा पाठेघर खस्ने, सेतो पानी बग्ने, पाठेघरमा घाँउ भएको जस्ता समस्याहरु भेटिएको श्रेष्ठले बताए । चेकजाँचको क्रममा जटिल समस्या भएकालाई चिकित्सकले वीपी प्रतिष्ठान आउन सुझाएका थिए ।

s

महिलाहरु लजाएर आफ्नो समस्या भन्न नसकि घरैमा बसिरहेकाहरुको लागि शिविर महत्वपूर्ण बनेको अध्यक्ष श्रेष्ठले बताए ।
‘आफ्नो समस्या भन्न नसकि लुकाएर बस्ने महिला दिदीबहिनीहरु शिविरमा आएर कम्तीमा पनि आफ्नो रोगको त पहिचान भयो अथवा डरमानेर बसेकाहरुको लागि पनि स्वास्थ्य चेक गराँएपछि ढुक्क त भयो ।’ उनले भने ।

शिविरमा निशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविर सञ्चालनको लागि वडा कार्यालयले समेत सहयोग गरेको जनाइएको छ ।