तेह्रथुम: माघे सक्रान्ति पर्वको अवसरमा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले स्थानीय विदा दिएको छ । गाउँपालिकाले माघे सक्रान्ति अर्थात् माघ १ गते एक दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।

उक्त दिन गाउँपालिका क्षेत्रमा विशेष माघेनी मेला लाग्ने भएकाले स्थानीय विदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सीनाले बतााइन् । गाउँपालिकाले विदा दिएपछि उक्त दिन गाउँपालिका अन्तर्गतका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु विदा हुने भएका छन् ।

गाउँपालिकाको मोराहाङ र पौठाकको सीमास्थित खोरुङ्गा खोला किनारमा रहेको गौखुरी धाममा माघे सक्रान्तिका दिन विशेष मेला लाग्ने तथा पुजापाठ हुने गरेको छ । माघे सक्रान्तिमा खोरुंगा खोलामा मकर नुहाएर गाईखुरी धाममा गौमाता र भकारी थानको दर्शन, ऐतिहासिक बोक्सीमारा ढुंगा र इत्रुङ झरनाको अवलोकन साथै सांस्कृतिक, खेलकुद र मनोरन्जनात्मक कार्यक्रमहरु सहित माघेनी मेलामा रमाउन सबै आमन्त्रण समेत गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष प्रदिप बुढाथोकीेले बताए ।