ताप्लेजुङ : सरकारले अनुदानमा दिएको जिल्ला अस्पताल ताप्लेजुङमा दुइवटा एम्बुलेन्स लामो समयदेखि प्रयोगविहिन हुँदा सेवाग्राही मारमा परेका छन् ।

दुई एम्बुलेन्समध्ये एउटा वर्षौदेखि विग्रिएर थन्किएको छ भने भदौमा स्वास्थ्य सेवा विभागबाट आएको अर्को नयाँ एम्बुलेन्स अहिलेसम्म चलाइएको छैन् । अस्पतालको एम्बुलेन्स प्रयोगविहिन बनेपछि सेवाग्राहीले चर्को मूल्य तिरेर व्यवसायिक संस्थाका एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।

चालक नियुक्तिका लागि प्रदेश सरकारबाट समयमा सहमति पत्र नपाएपछि नयाँ एम्बुलेन्स चार महिनादेखि नचलाई राखिएको छ भने पुरानो एम्बुलेन्स मर्मत खर्चको अभावले वर्षौदेखि खिया लाग्ने अवस्थामा थन्किएको छ ।
अस्पताल प्रशासनको लापरवाहीले भएका एम्बुलेन्सलाई पनि व्यवस्थित गरेर नचलाएको स्थानीयको गुनासो छ ।
यता अस्पतालका निमित्त प्रमुख डा.सोनिङ लामाले भने केही दिनअघि मात्रै प्रदेशबाट चालक नियुक्तिका लागि अनुमति पत्र पाएकोले चाँडै नियुक्ति प्रकृया सुरु गरिने बताए ।