इनरुवा: सुनसरीको कोशी गाउँपालिकामा नीजि विद्यालयहरुको एकीकृत छाता संगठनले गाउँपालिकास्तरीय शिक्षा आयोग गठन गर्न माग गरेको छ ।

कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीलाई ध्यानाकर्षण तथा माग पत्र बुझाउदै एपिएसले कोशी गाउँपालीकाले गाउँपालिका स्तरीय शिक्षा आयोग गठन गर्न माग गरेको हो । गाउँपालीकास्तरीय शिक्षा आयोग गठन गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर शिक्षा क्षेत्र सुधारमा केन्द्रित हुन एपिएस कोशीले गाउँपालिका अध्यक्ष अन्सारीलाई आग्रह गरेको छ ।

ध्यानाकर्षण तथा माग पत्रमा कक्षा १ देखि माथिका विद्यार्थी भर्ना स्थान्तरण प्रमाणपत्र बिना नगर्न, आधारभुत शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन आयोग गठन गर्नुपर्ने माग गरेको हो । गाउँपालिकास्तरीय शिक्षा समितिमा नीजि बिद्यालयको प्रतिनिधि समावेश गर्न, कोशी गाउँपालिका क्षेत्रमा कम्तीमा एउटा सामुदायिक उच्च शिक्षा अध्ययनको व्यवस्था गरिदिन लगायत १० बुँदे ध्यानाकर्षण तथा माग पत्रमा उल्लेख छ ।

गाउँपालिका अध्यक्ष अन्सारीले शिक्षा क्षेत्र सुधार गर्नु आफ्नो पहिलो प्राथमिकता रहेकोले सबैसँग सहकार्य गरेर जाने बताए । उनले एपिएस कोशीको जायज र पुरा गर्न सकिने माग पुरा हुने पनि बताए । गाउँपालिका अध्यक्ष अन्सारीलाई ध्यानाकर्षण तथा माग पत्र एपिएस कोशीका अध्यक्ष पर्शुराम यादव, उपाध्यक्ष अशोक यादव, देवीलाल यादवले बुझाएका थिए ।