तेह्रथुम : जिल्ला अस्पताल तेह्रथुममा उपचार सम्भव नभएपछि म्याङलुङ नगरपालिका–८, आम्बुङकी एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आम्बुङकी ३३ वर्षीय लोककुमारी लिम्बुको जिल्ला अस्पतालमा प्रसुति गराइएपनि अत्यधिक रक्तश्राव भएका कारण थप उपचारकालागि मंगलबार हेलिकप्टरमार्फत कोशी अन्चल अस्पताल विराटनगर लगिएको छ ।

लिम्बुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताए । छैटौँ पटक गर्भधारण गरेकी लिम्बुलाई गत शुक्रबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । शारीरिक रुपमा कमजोर भएपनि परिवारको स्वीकृतिमा जिल्ला अस्पतालमै अपरेसन गरेर बच्चा जन्माइएको र आइ.सि.यु.मा राख्नुपर्ने अवस्था भएपछि रेफर गरिएको जिल्ला अस्पतालका डाक्टर आनन्द देवले बताए । लिम्बुको अपरेसन पछि सोमबार दिउँसो ३ बजे बच्चा जन्मिएको थियो ।

जिल्ला अस्पतालमा ब्लड बैंक समेत छैन । दुई जनाले रक्तदान गरेर लोककुमारीको अपरेसन भएको थियो । तर अपरेसनपछि समेत निरन्तर रक्तश्राव भएपछि जिल्ला अस्पतालले रेफर गरेको श्रीमान् किर्तिमान लिम्बुले बताए । लालीगुराँस नगरपालिका–९, साविक सोल्मा–२ माइती रहेकी लिम्बुले नियमित मादक पदार्थ समेत सेवन गर्ने गरेको चिकित्सकको भनाइ छ ।
जिल्लामा सुत्केरी महिलाको स्वास्थ्यमा जोखिम भएको जानकारीपछि महिला तथा बालबालिका मन्त्रालयसँगको समन्वय गरी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी होमागाईले बताए । उनका अनुसार सरकारले जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको हवाई उद्धार सम्बन्धी कार्यविधि नै बनाएर राष्ट्रपति उत्थान कार्यक्रम सञ्चालित छ । जिल्लामै पहिलो पटक जोखिममा रहेकी सुत्केरीको उद्धार गरिएको र यस्ता समस्याहरुको निदानका लागि कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको प्रजिअ हुमागाईको भनाइ छ ।