विराटनगर : एक महिना देखि लगाइएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको ताला बुधबारबाट खोलिएको छ । विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त रुपमा लगाएको ताला बुधबार क्याम्पस प्रशासन, प्रध्यापक संघ र विद्यार्थी संघहरू बिच बसेको वार्ता टोलीले चार बुँदे लिखित सम्झौता गरे सँगै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको ताला खोलिएको हो ।

क्याम्पसमा क्याम्पस प्रमुखको मिलिमतोमा व्यापक आर्थिक चलखेल भएको विद्यार्थीहरूले आरोप लगाउँदै आएका छन् । क्याम्पसमा भैरहेको भौतिक पूर्वाधार निर्माण तथा अन्य काममा पनि अनियमितता भएको गुनासो गरेका छन् ।

क्याम्पसमा हुने आर्थिक र प्रशासनिक काम पारदर्शी नभएकोले परदर्शी ढङ्गले सञ्चालन गर्नु पर्ने विधार्थीहरुले माग गरेका छन्। विद्यार्थी संघ संगठनहरूले संयुक्त रुपमा प्रस्तुत गरेका मागका सम्बन्धमा यथार्तता आउने गरी १ हप्ता भित्रमा एउटा समिति गठन गर्ने र छानविन गरी सत्य तथ्य पत्ता लगाई प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ ।

क्याम्पसमा खेलकुद, शैक्षिक भ्रमण, पुस्तकालय, छात्रवृत्तिलगायतका समितिहरू गठन गरी १५ दिन भित्रमा यसबारेमा विद्यार्थी संघ संगठनहरूलाई उपलब्ध गराउने र आवश्यकता अनुसार संगठनहरूलाई पनि समावेश गर्ने र क्याम्पस प्रशासनबाट तत्काल पूरा गर्न सक्ने मागका सम्बन्धमा बुधबारकै मितिबाट कार्य प्रारम्भ गर्ने सहमति भएको हो ।

चार बुँदे लिखित सम्झौता सँगै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यलय र लेखा शाखामा विद्यार्थीहरुद्वारा लगाएको ताला खोलिएको छ ।