झापा: महिला कृषि उद्यमी र पत्रकार सम्मान गर्दै वीरता लेडी जेसीजको १४ आंै पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले आफ्ना जन्मदाता र कर्मदाता पिताका नाममा स्थापना गरेको यज्ञ–तीर्थ पुरस्कारबाट शिवसताक्षी नगरपालिकाकी मौरी व्यवसायी देवीकुमारी ओली दाहाललाई नगद, सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । त्यसैगरी जेसीजले प्रत्येक वर्ष जिल्लामा रहेर संचारपेशामा क्रियाशिल एक महिला पत्रकारलाई सम्मान गर्ने परम्परा अनुसार यो वर्ष प्रतिदिन दैनिकमा कार्यरत मनिषा चम्लागाईलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

आफ्नै संगठनमा बार्षिक रुपमा क्रियाशिल मध्येबाट हिमा मिश्र पौडेललाई वर्षोत्कृष्ट सदस्यका रुपमा सम्मान गरेको छ भने सन् २०१८ मा स्वस्तिका आचार्य र शुशिला शिवाकोटीलाई मानार्थ सदस्यता प्रदान गरेको बताइएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न पदहस्तारन्तरण कार्यक्रममा वीरता लेडी जेसीजकी सन् २०१८ की अध्यक्ष नम्रता रिजाल ढकालको गलाको जेसीज चेन सन् २०१९ कि अध्यक्ष सरु भूर्तेल खनालका गलामा पहिर्याएर पदहस्तान्तरण गरिएको थियो ।
यसैबीच सन् २०१९ की अध्यक्षले कार्यसमितिमा मनोनयन गर्न पाउने नियमानुसार सन् २०१९ का लागि महासचिवमा शुष्मा भण्डारी, कानूनी सल्लाहकारमा गोमा भट्टराई, कोषाध्यक्षमा कामना उप्रेती, तालिम संयोजकमा स्वस्तिका आचार्य र शाखा सम्पादकमा हिमा पौडेललाई मनोनयन गर्दै १५ सदस्यीय कार्यसमितिलाई पूर्णता दिइएको छ ।

नम्रता रिजाल ढकाल र पदभार ग्रहण पछि सरु भुर्तेल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वस्तिका आचार्य र शुष्मा भण्डारीले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पौडेल, विशेष अतिथि विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई, जेसीजका जेसीज एरिया ए भी पी इनु थापा, लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल तथा पूर्वअध्यक्षका तर्फबाट राधा सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक हिमा पौडेलले आस्था वाचन गरेको कार्यक्रममा दमयन्ता दाहालले शब्द र विर्तामोडेल स्कूलका बालबालिकाले नृत्यद्वारा स्वागत गरेका थिए ।