धरान:प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउने सरकारको योजना रहेको बताएका छन् ।

शुक्रबार धरान ८ स्थित शहीद स्मृति माविको ६२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गदै मन्त्री घिमिरेले सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धिको लागि प्रविधिमैत्री बनाउने योजना रहेको बताए । त्यसको लागि सरकारले ‘ई–एजुकेशन’लाई प्राथमिकतामा राखेर अघि बढेको उनको भनाई थियो । ‘प्रदेश सरकारले हरेक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने सोच र योजना रहेको छ,’मन्त्री घिमिरेले भने,‘त्यस अन्तर्गत हामीले गैरसरकारी संस्था ई–क्वालिटी फाउण्डेसनसँगको साझेदारीमा एक सय विद्यालयमा ई–एजुकेशनको सुरुवात गर्ने आन्तरिक गृहकार्य अघि बढाएका छौं ।’ सरकारले सम्झौता समेत गरिसकेको मन्त्री घिमिरेले जानकारी दिए ।

विद्यालयहरुमा कम्प्यूटल ल्याव अनिवार्य बनाएर शिक्षकहरुको लागि न्यूनतम कम्प्यूटर साक्षरता अभियान थालिने समेत मन्त्री घिमिरेले बताए । सामुदायिक विद्यालयमा विद्यार्थीहरु अग्रेजी भाषामा कमजोर हुने कारणले पनि निजी विद्यालयमा आकर्षण बढेको उनको भनाई थियो । सामुदायिक विद्यालयले अग्रेजी माध्यमको पठनपाठनमा ध्यान दिनु आवश्यक रहेको घिमिरको जोडथियो ।DSC00062

 

‘सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहको अंग्रेजी भाषा कमजोर हुन्छ, यता निजी विद्यालयमा राम्रो छ, त्यसैले पनि विद्यार्थी र अभिभावक निजी विद्यालयतर्फ आकर्षित छन्, अब सामुदायिक विद्यालयले पनि अग्रेजी भाषाको माध्यमबाट पढाउने तिर ध्यान दिनुपर्यो,’मन्त्री घिमिरेले भने,‘सरकारको अबौं लगानी भएको सामुदायिक विद्यालयको गुणस्तरीयता बढाउनुपर्यो, विद्यार्थीहरुमा कोटा अभाव हुँदामात्र निजीमा जाने वातावरण सिर्जना गर्नुपर्छ ।’

विद्यालयमा आमा समुह र सहयोग समुह

सामुदायिक विद्यालयको विकासको लागि विद्यालयमा ‘आमा समूह’ गठन गरेर विद्यालयको अंगको रुपमा विकास गरिने मन्त्री घिमिरेल बताए । विभिन्न समाजसेवीहरुको सहभागी गराइ ‘विद्यालय सहयोग समूह’ संयन्त्र गठन गर्ने कार्यक्रम रहेको समेत उनले बताए । यसैगरी, विद्यालय–विद्यालयबीच सिकाइ आदानप्रदान गर्नको लागि विद्यालय मितेरी कार्यक्रम समेत ल्याउन लागेको बताए । त्यसैले, प्रदेश सरकारले सामुदायिक विद्यालयहरको गुणस्तरबृद्धिको लागि नीति निर्माण गर्ने तथा ऐनहरु निर्माण गरिरहेको बताए । मन्त्री घिमिरेले सहिद स्कुलको भवन निर्माणको लागि बजेट दिने प्रतिबद्धता समेत जनाए । ‘स्कुलको अधुरो भवन पूरागर्नको लागि २२ लाख रुपैयाँ माग गर्नुभएको रहेछ, त्यो पनि पूरागर्ने बच्चन दिन्छु,’ उनले भने ।