इटहरी  : १८ औँ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा इटहरीका क्रियाशिल युवाहरुले समर्थन जनाउँदै २४ घण्टे सामूहिक अनसन सुरु गरेका छन् ।

शनिबार (आज) बिहानदेखि इटहरीमा रहेको लिबरल सोसाइटी नामक सामाजिक संस्थाका अगुवाहरुले केसीको समर्थन जनाउँदै जीवन रक्षाको माग सहित सामूहिक अनसन सुरु गरेका हुन् । शुक्रबार अधिनायकबादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गरिएको भन्दै केसीको जीवन रक्षा र आम सर्बसाधारण मानिसको हितको निम्ती अनसन बसिएको लिवरल सोसाइटीका अध्यक्ष सुबेक्छु देवान राईले बताए । शनिबार विहान शान्तिपूर्ण रुपमा नगरपरिक्रमा गरि अनसन सुरु गरिएको उनको भनाई छ । बहुमतको सरकारले जनता मारा नीति बनाएकाले चिकित्सा शिक्षा बिधेयक खारेज गर्नुपर्ने मागसहित अनसन बसिएको राईले बताए । ‘सरकारले गोविन्द केसी एक्लै भएको बुझेकाले केसीको पक्षमा आम जनता छौँ भन्नका लागि दबाब दिनका लागि अनसन बसिएको हो,’ उनले भने, ‘जनतामारा नीतिका विरुद्धमा डा. केसी मात्रै हैन हामी पनि छौँ ।’ सरकारले आफूसँग गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक पास गर्न माग गर्दै डा. केसी १६ औं पटक अनसन बसिरहेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकले प्रतिपक्षको अवरोधका बाबजुद विधेयक पारित गरेको थियो ।

देशैभर डा. केसीको समर्थनमा र्याली र प्रदर्शन भइरहँदा इटहरीमा विभिन्न प्ले कार्ड बोकेर शान्तिपूर्ण प्रर्दशन गरिएको हो । ‘माफियाको मिसन, सिटामोलमा पनि कमिसन, म गरीब छु, मैले पनि डाक्टर पढ्न पाउनुपर्छ, तीन करोड नेपालीलाई एउटै प्रश्न सभाषद्को लगानी ठूलो कि जनताको स्वास्थ्य, चिकित्सा शिक्षा बिधेयक पारित गर, माफियाहरु देश घेर्दै सरकार के हेर्दै, जनता मार्न पाईँदैन’ जस्ता प्ले कार्ड लिएर नगरपरिक्रमा गरिएको थियो ।