विराटनगर : ‘स्वास्थ्य र समृद्धिका लागि आरोग्यता र आरोग्यताको योगअभ्यास’ भन्ने मुल नाराका साथ आजदेखि विराटनगरमा प्रदेशस्तरीय वृहत योग शिविर सुरु हुँदैछ ।
प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पहलमा सामाजिक विकास मन्त्रालयले आयोजना गर्न लागेको सो निशुल्क योग शिविर प्रत्येक दिन बिहान साढे ५देखि ७ वजेसम्म र अपरान्ह १:  १५ देखि ०२ : १५ सम्म चल्ने छ ।

विराटनगरको शंकरपुरस्थित खाली मैदानमा माघ १९ गतेसम्म सञ्चालन हुने योगशिविरको आज प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ र अपरान्ह चल्ने योग शिविरको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

योगलाई आमजनता माझ पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको सो योग शिविरको पहिलो दिन आईतबार कलाकार तथा समाजसेवी सिताराम कट्टेल(धुर्मस) पनि सहभागी हुने जनाईएको छ ।

योग शिविरमा पाँच हजार महिला तथा पुरुषले एक पटकमा योग गर्न सक्नेछन् । शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीको उपस्थिति हुनुका साथै पतञ्जलि योग नेपालका अध्यक्ष लवदेव मिश्र र जगतगरु कृष्णदास जी महाराजले प्रशिक्षण दिनेछन् ।