धरान: धरान ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी निःशुल्क आँखा तथा कानको स्वास्थ्य शिविर आयोजना गरेको छ ।

धरान उपमहानगरपालिका, सुनसरी उद्योग बाणिज्य संघ र स्वास्थ्य जनचेतना कार्यक्रमको सहयोगमा सुनसरी उद्योग बाणिज्य संघ परिसरमा सोमबार शिविर आयोजना गरिएको हो । शिविरमा धरानभरीका ६० वर्ष भन्दा माथिका ३ सय जनाले स्वास्थ्य लाभ लिएको कार्यक्रम संयोजक हरिबहादुर विष्टले जानकारी दिए । शिविरमा सबै भन्दा धेरै आँखाको मोतिया बिन्दुको समस्या देखिएको संयोजक विष्टले बताए । शिविरमा विराटनगर आँखा अस्पतालका चिकित्सक तथा प्राविधिकहरुको प्राविधिक सहयोग रहेको थियो भने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको सहयोगमा निःशुल्क औषधिसमेत वितरण गरिएको विष्टले जनाए ।

eye0

शिविरमा चेकजाँचको क्रममा ६५ जनामा मोतियाविन्दु देखा परेको थियो भने ३५ जनामा कानको समस्या देखिएकोले विराटनगर आँखा अस्पतालमा निःशुल्क अप्रेशन गर्ने व्यावस्था मिलाइएको केन्द्रकी अध्यक्ष सरला कायस्थले बताइन् । ‘निःशुल्क चेकजाँच र निःशुल्क रुपमा नै औषधि दिने व्यावस्था गरेका छौं ।’ केन्द्रकी अध्यक्ष कायस्थले भनिन् ‘अप्रेसन गर्नुपर्ने, अरु कुनै समस्या देखिए त्यो विरानगर आँखा अस्पतालले निःशुल्क रुपमा गरिने व्यावस्था मिलाएका छौं ।’

उमेर पाको हुदै गएपछि मानिसमा आँखा र कानको समस्याबाट गुज्रिरहने हुँनाले यस्तो समस्याबाट मुक्त गराउने उद्देश्यले शिविरको आयोजना गरिएको केन्द्रले जनाएको छ । ‘वीपी प्रतिष्ठान नजिक भएपनि जेष्ठ नागरिकहरुको लागि उपचार लिनको लागि सास्ती खेप्नुपर्छ, त्यसैले पनि सहज बनाउनको लागि पनि शिविर गरेका हौं ।’ केन्द्रकी अध्यक्ष कायस्थले भनिन् ।