इनरुवा: सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ११ मा रहेको तनमुना स्वास्थ्य चौकीलाई आवश्यक विभिन्न स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

जेआइजेड संस्थाको सहयोगमा बुधवार एक कार्यक्रम आयोजना गरी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई २ लाख ५० हजार बराबरको १३ किसिमको स्वास्थ्य उपकरण प्रदान गरिएको हो । वर्थिङ सेन्टरलाई स्तरोन्नति गर्न सहयोग पुर्याउने र सेवा प्रवाहमा सहयोग गर्ने उद्देश्ले स्वास्थ्य उपकरण प्रदान गरिएको जेआइजेडकी कार्यक्रम अधिकृत पार्वती आचार्यले बताइन् ।

कार्यक्रममा वडाध्यक्ष आशाराम चौधरीले जेआइजेड संस्थाले तनमुना स्वास्थ्य चौकीलाइ फर्नीचर, रंग रोगन लगायतको लागि २ लाख सहयोग गरि सकेको जानकारी दिए । कार्यक्रममा दुहवीका स्वास्थ्य संयोजक उचित नारायण साहले शुभकामना मन्तव्य दिनु हुँदै वर्थिङ सेन्टरलाइ व्यवस्थित गर्नको लागि सहयोगको अपेक्षा राखे । प्रमुख अतिथि रहेकी दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जेआइजेड संस्थाले दुहवी नगरपालिकामा गरेको योगदानको विषयमा चर्चा गर्दै संस्थाको सहयोगमा निःशुल्क हेल्थ डेक्स राख्ने जानकारी दिए ।