धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फोरेन्सिक विशेषज्ञ प्रा.डा.विश्वनाथ(बिएन) यादव दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर नियक्त भएका छन् ।

उनलाई प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीको सिफारिशमा सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्ती गरेका हुन् । राप्ती प्रतिष्ठानकी उपकुलपति पनि वीपी प्रतिष्ठानकी इएनटि विभागमा कार्यरत थिइन् । भण्डारी राप्ती अघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति भएकी थिइन् । मन्त्री यादव निकट मनिएका फरेन्सिक बिशेषज्ञ डा.यादवलाई उनकै सिफारिशमा नियुक्ती गरिएको हो ।

रेक्टरमा नियुक्त भएका यादव वीपी प्रतिष्ठानबाट अवकाश हुन करिब एक बर्षजति मात्र बाँकी छन् । उनलाई रेक्टरमा नियुक्ती गरिएको जानकारी मन्त्रालयबाट राप्ती र वीपी प्रतिठानमा पठाइसकेका छन् । नवनियुक्त रेक्टर यादवले आफुले मंगलबार जानकारी पत्र पाएको र अब वीपी प्रतिष्ठानबाट विदा मिलाएर राप्ती जाने बताए । 'मैले हिजो मात्र पत्र पाएको छुँ, अब वीपी जान्छु, र विदा मिलाएर मात्र राप्ती जान्छु,' काठमाण्डौमा रहेका डा.यादवले मोवाइल सम्पर्कमा भने,'राप्ती प्रतिष्ठानको शैक्षिक तथा समग्र विकासमा पदाधिकारीसँग मिलेर योगदान गर्नेछुँ ।'