धरान(डेस्क): आज दिउँसो ३ बजेदेखि प्रदेश नं १ को प्रदेश सभाको हिउँदे अधिवेशन शुरु हुदैछ । यही अधिवेशनले प्रदेश १ को नामकरण र स्थायी राजधानीको पनि टुंगो लगाउने भनिएकाले महत्वका साथ यो अधिवेशनलाई हेरिएको छ ।

अधिवेशनलाई लक्षित गरेर दबाब स्वरुप आजै कुमार लिंदेन नेतृत्वको संघीय लिम्बुवान मञ्चले प्रदेश अस्थायी राजधानी विराटनगरमा धर्ना कार्यक्रम गर्दैछ । दबाबमुलक कार्यक्रमको लागि मोरङ, सुनसरी र झापाबाट नेता, कार्यकर्ताहरु गाडीमा विराटनगर जादैछन् भने अन्य जिल्लाबाट प्रतिनिधिमुलकरुपमा सहभागिता जनाउने मञ्चले जनाएको छ । मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमका अनुसार विराटनगरको देवकोटा चोकमा आज धर्ना दिने कार्यक्रम छ । त्यसअघि, महेन्द्र चोकबाट र्याली निकाल्ने कार्यक्रम पनि रहेको उनले बताए ।

मञ्चले पहिचान र ऐतिहासिकताको आधारमा प्रदेशको नामकरण लिम्बूवान हुनुपर्ने माग गर्दे आएको छ । साथै, प्रदेश नं १ मा १४ जिल्ला भएकोले ९ जिल्लासहितको लिम्बूवान प्रदेश हुनुपर्ने मञ्चको माग छ । ‘आजदेखि प्रदेशसभाको हिउँदे अधिवेशन शुरु हुदैछ, त्यसैले शान्तिपुर्ण र दबाबमुलक कार्यक्रम गर्दैछौ,’इजमले भने,‘हाम्रो मुख्य माग अरुणपुर्व ९ जिल्ला लिम्बूवान हुनुपर्छ, र बाँकी किरात खम्बुवान प्रदेश होस् भन्ने छ ।’ आज मोरङ, झापा र सुनसरीबाट मात्र बढी नेता, कार्यकर्ताहरु विराटनगर केन्द्रित रहने उनले बताए । अन्य जिल्लाबाट प्रतिनिधिमुलक सहभागिता हुने र थप सशक्त आन्दोलनमा पछि सहभागिता हुने उनले खुलाए ।

IMG_20190203_122636

यायोक्खाको कार्यक्रम स्थगित

किरात राई यायोक्खाले प्रदेश नं १ को नामकरण किरात प्रदेश हुनुपर्ने माग गर्दै आएको छ । यही मागलाई लिएर आज यायोक्खाले अवधारणासहितको पर्चा, पम्प्लेट प्रदेश सांसदहरुलाई वितरण गर्ने र किरात प्रदेश नामकरणको लविङ कार्यक्रम तय गरेको थियो । तर, यायोक्खाले यो कार्यक्रमलाई स्थगित गरेको छ ।

आजै लिम्बूवानले पनि विराटनगरमा धर्ना कार्यक्रम राखेकोले तनाव बढ्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थगित गरिएको अनुमान छ । यद्यपी, यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रदेशसभा र सांसदहरुलाई यसअघि पनि वृहत र्याली प्रर्दशनसहित लाखौं हस्तक्षर बुझाउदै किरात प्रदेश नामकरणको माग गरिएको, सांसदहरुलाई अवधारण बुझाएको हुनाले सोही प्रकृतिको आजको कार्यक्रम स्थगित गरिएको बताए । ‘आजको कार्यक्रम त पहिला पनि गरिसकेका थियौ, त्यसैले केही नयाँढंगले जाने भनेर त्यो कार्यक्रमलाई स्थगित गर्यौ,’अध्यक्ष राईले भने ।