झापाःझापाको दमकमा पहिलो पटक सार्वजनिक प्रयोजनका लागि स्तनपान कक्ष र सिनेटरी प्याड फेर्ने सेवा उपलब्ध गराईएको छ ।

महिला लायनहरु आवद्ध लायन्स क्लब अफ सेविका र लायन्स क्लब अफ दमक बेलसिटीले दमकको मुख्य चोक नजिकै भिसी मार्केटमा महिलाहरुको सुविधाका लागि त्यस्तो सेवा शुरु गरेका हुन् । ती दुवै कक्षको आइतबार एक कार्यक्रमका बीच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘ए वान’का गभर्नर अनन्त भेट्वालले संयुक्त रुपमा ती कक्षको उद्घाटन गरे । दुई वर्षसम्म त्यही कक्षबाट ती सेवाहरु सार्वजनिक प्रयोजनका लागि शुरुवात गरिएको सेविकाकी अध्यक्ष रेगिना भट्टराईले जानकारी दिईन् ।

सो कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले व्यवसायिक चाप रहेको स्थानमा स्तनपान कक्ष सञ्चालन भएपछि महिलाहरुलाई सुविधा पुग्ने विश्वास व्यक्त गरेका थिए । उक्त कार्यक्रम सञ्चालन गर्न लायन्स क्लवसहित दमक उद्योग वाणिज्य संघ, सञ्जु फोम सेन्टर,ओम शान्ति डेन्टल हस्पिटललगायतले सहयोग पुरयाँएका छन् ।

यसैगरि सोहि क्लवले दमकमा आयोजना गरेको महिला लक्षित स्वास्थ्य शिविरमा १ सय ५१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । आम्दा अस्पताल दमकको सहकार्यमा भएको शिविरमा दुई जना चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा आएका बिरामीहरु मध्ये १५ जनामा पाठेघर र ३ जनामा स्तनको समस्या देखिएको डाक्टर पविना कट्टेलले जानकारी दिइन् । बिरामीको निशुल्क भिडियो एक्सरे समेत गरिएको थियो ।