लहान : विद्यार्थीले सिरहाको औरही गाउँपालिका–५ स्थित सुन्दर जनता माविमा तालाबन्दी गरेका छन् ।

सरस्वती मन्दिर निर्माणका लागि आफूहरुबाट चन्दा लिए पनि हालसम्म मन्दिर निर्माण हुन नसकेको, विद्यालयमा नियमित पठनपाठन नभइरहेको, पुस्तकालय र विज्ञान प्रयोगशाला नभए पनि नक्कली बिल भरपाई बनाई विद्यालयमा अनियमितता भएकाले तालाबन्दी गर्नु परेको विद्यार्थी रुपेश यादवले जानकारी दिए ।

पटक पटक विद्यालय प्रशासनलाई आर्थिक पारदर्शिताका लागि आग्रह गर्दै आए पनि लामो समयसम्म विद्यालय प्रशासनले आफूहरुको माग पूरा नगरेकाले बाध्य भएर आन्दोलन शुरु गरिएको विद्यार्थीको भनाइ छ ।

यस्तै विद्यालयमा शैक्षिक वातावरण अस्तव्यस्त बनेको र शैक्षिक संस्थामा शैक्षिक वातावरणउपर नकारात्मक प्रभाव परेको भन्दै स्वतन्त्र युवा समाजले सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै अविलम्ब माग पूरा गर्न आग्रहसमेत गरेको थियो ।
यता औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले विद्यार्थीले उठाएको माग विद्यालय प्रशासनले सम्बोधन नगरेकाले तालाबन्दी गरिएको बताए ।