बराहक्षेत्र:सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय बनाउने बिषयमा वृहत छलफल भएको छ ।

नगरपालिकाले वडा कार्यालय बनाउन बजेट विनियोजन गरेकोले वडा १ र ३ को भवन कहाँ बनाउने भनेर छलफल शुरु गरिएको वडा ३ का अध्यक्ष रुद्रदाहालले बताए । स्थानीय अगुवा, विभिन्न पार्टी प्रतिनिधि, बुद्धिजीवी युवाहरुसँग ३ नम्बर वडा कार्यालय कहाँ बनाउने भनेर वृहत छलफल गरिएका थियो । छलफलमा नडाहा चौक, इक्राई भानुचौक, हर्दिय बेलाहलगायत स्थान प्रस्ताव भएको छ । छलफल भने विना निष्कर्ष टुंगिएको थियो ।

अध्यक्ष दाहालका अनुसार विभिन्न व्यक्तिले वडा कार्यालयको लागि जग्गा दिन प्रस्ताव गरिरहेका छन् । सोही बिषयमा छलफल गरेपनि निष्कर्षमा नपुगेको कारण वडाबासीहरुले जनप्रतिनिधिहरुलाई नै निर्णय लिन जिम्मेवारी दिएको अध्यक्ष दाहालले बताए । छलफलमा भानुचौक सबैको सेन्टर ठाउँ भएकोले त्यहाँ बनाउनुपर्छ भन्ने मत निक्कै रहेको थियो । कसैले भने नडाहा चौक उपयुक्त भएको जिकिर गरेका थिए ।