विराटनगरः कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताएका छन् । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिए । मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानून संशोधन र निर्माण प्रक्रियामा रहेको बताए ।

वाइडबडी जाहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको उल्लेख गर्दै मन्त्री ढकालले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने उल्लेख गरे । चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उनले न्यायालयप्रति जनताको विश्वास बढाउन सरकारले न्याय परिषदमा उचित परामर्श र छलफल भइरहेकामा पनि जोड दिए ।