धरान: परियार सेवा समाजको केन्द्रीय समितिले पदमुक्त गरेको भनिएका परियार सेवा समाज सुनसरी जिल्ला कार्य समितिको अध्यक्ष खगेन्द्र बहादुर नेपालीको आफु निवार्चित अध्यक्ष रहेर क्रियाशिल हुदै आएको बताएका छन् ।

उनलाई केन्द्रीय समितिले पदमुक्त गरेको भएपनि निरन्तर क्रियाशिल रहेको भन्दै कावाही गरेको पत्र र समाचार प्रकाशन भएपछि विज्ञप्ती जारी गर्दै एकपक्षीयरुपमा समाचार प्रकाशन भएको तथा आफ्नो चरित्रहत्या गर्ने मनसाय भएको पनि आरोप लगाएका छन् । उनले आफु २०७३ सालमा निर्वाचित भई क्रियाशिल भइरहेको साथै परियार सेवा समाजको केन्द्रीय कार्य समितिमा गत ०७४ चैत्रबाट बलबहादुर सुन्दास र डिबी परियारको अलग अलग समूह क्रियाशील रहेको पनि उल्लेख गरेका छन् ।

उनले विज्ञप्तीमा बलबहादुर सुन्दास अध्यक्ष रहेकै समयमा तत्कालिन सहअध्यक्ष डि.बी.परियारको नेतृत्वमा स्वेच्छाचारी रुपमा अलग समिति बनाइएको र पछि आधिकारिकताका लागि हाल सर्वोच्चमा मुद्दा विचाराधिन रहेको पनि खुलाएका छन् । 'हामी जिल्ला तथा नगरमा फरक दर्ता नं मा छौं र हाम्रो छुट्टा छुट्टै विधान समेत रहेको छ तर भाईचारा जातीय संस्था भएकाले एकले अर्कालाई स–सम्मान गर्दछौ,'उनले विज्ञप्तीमा भनेका छन्,'मैले कुनै अपराध गरेको होइन, म परियार सेवा समाज सुनसरीको अध्यक्ष हुँ र अर्को अधिवेशन वा भेला भएको छैन । विधिवत रुपमा भएको अध्यक्षलाई चरित्र हत्या गर्ने दुष्प्रयास र भ्रमको पछि नलाग्न समेत सबैलाई आग्रह गर्दछु ।' समाजको केन्द्रको विवाद कानुनी प्रक्रियामा टुंगो लाग्न बाँकी रहेको भन्दै उनले सुनसरी जिल्ला र धरान नगरमा कुनै विवाद नभएको दाबी गरेका छन् ।