धरान : श्री सुच्चाराई कल्याणकारी समाज सुनसरीले आफ्नो १९ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

धरानको मुटु भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा शनिबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । वि. सं. २०७० सालदेखि नै बार्षिकोत्सवको बिशेष अवसर पारेर आयोजना हुने उक्त रक्तदान कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । जसमा विभिन्न स्थानहरु ईटहरी, तरहरा, विष्णुपादुका, धनकुटा लगायत ठाउहरुबाट कार्यक्रममा आएका ७० पुरुष र २५ जना महिलाहरु सहभागी भएका थिए । यसरी संकलित रगत श्री सुच्चाराई कल्याणकारी समाजले नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा धरानलाई प्रदान गरेको छ ।

रक्तदान कार्यक्रममा विभिन्न स्थानहरुबाट सुच्चा राईहरु सयौँको संख्यामा आफ्नो भेष (भुषामा सजिएर उपस्थित भएका थिए । रक्तदान कार्यक्रमको प्रमुख अतिथी किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले मन्तव्यको क्रममा सुच्चा राई कल्याणकारी समाजको प्रशंसा गर्दै धरानमा आफ्नो छुट्टै परिचय सुच्चा राईहरुले बनाईसकेको बताएका थिए । रक्तदान नै जीवनदान हो भन्ने भाव बुझेर हरेक बर्ष सुच्चा राई समुदायले गर्ने पवित्र रक्तदान जस्तो कार्यक्रमले मृत्युको मुखबाट धेरैको जीवन बचाउन मद्धत गरेको समेत बताए । प्रमुख अतिथि राईले सुच्चा राई कल्याणकारी समाजले गरेको धेरै सामाजिक कार्यहरुको खुलेर प्रशंशा गर्दै धरान ११ स्थित मंगलबारेमा बन्दै गरेको २ करोडको सामुदायीक भवनले पनि धरानमा छुट्टै महत्व थप्ने बताउदै यस्ता सामाजिक कार्यहरुमा हातेमालो गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला अध्यक्ष श्रीकुमार राईले स्वागत मन्तब्य दिएका थिए भने सुच्चाराई कल्याणकारी समाजका केद्रीय अध्यक्ष बिनोद सुच्चा राईले संस्थाको भावी योजनाबारे जानकारी गराएका हुन् । कार्यक्रममा केन्द्रीय समिति, जिल्ला समिति, नगर र गाउँका विभिन्न पदाधीकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई केद्रीय अध्यक्ष बिनोद सुच्चा राईले संस्थाको तर्फबाट धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा यस्ता सामाजिक कार्यहरुमा सधै हातेमालो गरी अगाढी बढ्ने धारणा राखेका थिए ।