धरान: नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको प्रदेश साधारणसभा फागुन २९ र ३० गते इलामको श्रीअन्तुमा हुने भएको छ ।

प्रदेश समितिको माघ २९ गते विराटनगरमा बसेकाो बैठकले यस्तो निर्णय गरेको अध्यक्ष बिक्रम लुईटेलले जानकारी दिएका छन् । साधारणसभाको लागि महासंघ इलाम शाखालाई संयोजनको जिम्मेवारी दिइएको छ । यसैगरि, पत्रकार महासंघ प्रदेश समितिको भवन फागुनको दोस्रो साताभित्र शिलान्यास गरी निर्माण सुरु गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ ।

महासंघको गत पुस ४ र ५ गते विराटनगरमा भएको राष्ट्रिय सम्मेलन प्रयोजनको ११ लाख ८२ हजार ५० रुपैया संकलन भएको र १० लाख ५७ हजार ६ सय ३१ रुपैया खच भएको पनि महासंघले जनाएको छ । उक्त खर्च कटाए बचत भएको १ लाख २४ हजार ४ सय ४९ रुपैयाँ मध्ये गम्भीर विरामी भएका ४ पत्रकारहरुलाई जनही २५ हजारको दरले सहयोग गर्ने निर्णय पनि बैठकले अनुमोदन गरेको अध्यक्ष लुईटेलले जानकारी दिएका छन् ।

अध्यक्ष लुइटेलका अनुसार क्यान्सर रोगबाट पीडित भई निधन भएकी पत्रकार सुभद्रा खड्काको परिवार, मृगौला प्रत्यारोपण गरी उपचारमा रहेकी पत्रकार मायाँ पकुवाल र मृगौला पीडित भई नियमित डाइलासिस गराईरहेका पत्रकार अमृतलाललाई जनही २५ हजार सहयोग गरिएको थियो । यसैगरी उदयपुरकी गम्भीर विरामी पत्रकार रञ्जु दनुवारलाई पनि २५ हजार सहयोग प्रदान गर्ने निर्णय गरिएको प्रदेश समितिे जनाएको छ ।