भोजपुर : भोजपुरका चार क्रियाशिल विद्यार्थी संगठनले विविध विषयलाई समेटेर प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । विद्यार्थी संगठनले ८ वुदेँ मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले ज्ञापनपत्रमार्फत सरकारी कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई विद्यालय शिक्षा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग गरेका छन् । त्यस्तै जिल्लामा खाना पकाउने ग्यासको मूल्य बढी भएकोले समायोजन गरिनुपर्ने, यातायातको भाडादर एकरुपता बनाउने संगै विद्यार्थीवर्गले छुट पाउनुपर्ने, सरकारी नम्बर प्लेटका सवारीको दुरुपयोग रोकिनुपर्ने, डेढ वर्षअघि प्याउलीमा भएको ३ जना बालबालिकाको हत्याका दोषीलाई सार्वजनिक गरी कारबाही गर्नुपर्ने, बजार क्षेत्रलाई नगर मापदण्ड अनुसार बनाईनुपर्ने र बजार अनुगमनलाई नियमित गरिनुपर्ने विद्यार्थी संगठनको माग छ । अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र विप्लव नेतृत्वको अखिल क्रान्तिकारी गरी ४ विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् ।

–नागरिक पूर्वेलीबाट