इटहरी: साविक एमाले सम्बद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १ नं प्रदेशका अध्यक्ष गौरी लामासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै संगठनका इटहरी कोषाध्यक्ष सुरज थापालाई कुटपिट गरेको आरोपमा लामा बिहान इटहरीबाट पक्राउ परेका हुन् । जाहेरी परेपछि लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले बताए । उनका अनुसार लामासँगै ज्ञानेन्द्र राई पनि पक्राउ परेका छन् । इटहरी धरान लाइनस्थित बस स्टेण्डमा लामा र राईले थापालाई कुटपिट गरेको आरोप छ । पीडित भनिएका थापाको अनुहार र घाँटीमा चोट लागेको र उनको एपेक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खाँदबारी–चैनपुर चल्ने सवारी काउण्टरमा बसेका थापासँग लामा पैसा उठाउन गएको बेला हिसाब नमिलेपछि विवाद हुदा कुटपिटसमेत भएको बताइएको छ । लामाले दुई हजार पैसा मागेपछि नदिदा आक्रमण भएको थापाले बताएका छन् । थापाले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको दाबी गर्दै प्रहरीमा लामा र राईविरूद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि दुवै पक्राउ परेका हुन् ।