शहरियाहरु बीच अहिले भ्यालेन्टाईन डे को मौसम छ । युवायुवती अहिले भ्यालेन्टाइन डे लाई कसरी विशेष बनाउने भन्ने ध्याउन्नमा छन् । खासमा भ्यालेन्टाईन डे नेपाली संस्कृति होईन तर विश्वव्यापीकरणको प्रभावसँगै अहिले नेपालका शहरदेखि गाउँसम्म भ्यालेन्टाईन डे फैलिसकेको छ । पहिलेका वर्ष भ्यालेन्टाईन डे सेलिब्रेट गर्न धरानमा ठूला ठूला ओपन डान्स पार्टी आयोजना हुन्थे । तर अचेल त्यस्ता पार्टी कमै हुन्छन् । अहिले ति पार्टीहरुको ठाउँ शहरमा खुलेका आधुनिक रेष्टुरेन्ट र लाउञ्जहरुले लिएका छन् ।

धरानको फ्रेन्ड्स गार्डेन लाउञ्ज एन्ड बारमा केहीदिन अघिदेखि नै भ्यालेन्टाईन डेको चहलपहल सुरु भईसकेको छ । भ्यालेन्टाईन सप्ताह नै मनाएको फ्रेन्ड्स गार्डेनले हरेक साँझ भ्यालेन्टाइन स्पेशल इभेन्ट आयोजना गरिरहेको छ । फेब्रुवरी ७देखि सुरु भएको भ्यालेन्टाइन स्पेशल उत्सवमा चकलेट डे, टेडि डे, प्रपोज डे जस्ता भ्यालेन्टाईन इभेन्ट मनाईसकेको छ । भ्यालेन्टाईन डेको अवसरमै टेडिवियरसँग सेल्फि प्रतियोगीता, आफ्ना प्रेमीसँग वेष्ट प्रपोज, वेष्ट प्रमिस जस्ता प्रतियोगीता पनि आयोजना गरेको फ्रेन्डस्ले भ्यालेन्टाई डेका दिन ‘पहिलो नम्बरमा’ गीतबाट चर्चामा आएका गायक डेबिड शंकरलाई निम्त्याएर विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । सञ्चालक सुमन श्रेष्ठ भन्छन्,‘सप्ताहव्यापी भ्यालेन्टाईन कार्यक्रममा सहभागी हुनेहरु इञ्ज्वाय गरिरहेका छन् । मुख्य दिन अझ विशेष हुने आशा छ ।’

valentine-special,-frinds-g

धरानकै बगरकोटको भिन्टेज लाउञ्ज एन्ड बारले भ्यालेन्टाईन डेका दिन गायिका मेलिना राईको सांगीतिक प्रस्तुती राखेको छ । मेलिनासँगै स्थानीय तपस्वी व्यान्डले पनि दर्शक/स्रोता झुमाउने भिन्टेजको योजना छ । बगरकोटकै बुमराङ बारले ‘तिमी र म’ नामको डान्स पार्टी आयोजना गर्दैछ । धरानका डिजेहरु मिलेर सञ्चालन गरेको बुमराङमा अरुबेला पनि सामान्य पार्टी हुन्छ तर भ्यालेन्टाइन डेलाई स्पेशल बनाउन उनीहरुले विशेष पार्टी आयोजना गरेका हुन् । सञ्चालक मध्येका डिजे ललित भन्छन्,‘धरानमा पहिला भ्यालेन्टाईन डेका दिन चार पाँच ठाउँमा ठूला पार्टी हुन्थे । अहिले त्यस्ता पार्टी हुन छाडेपछि पार्टीप्रेमीहरु लाउञ्ज र बारमा झुम्मिन्छन् ।’ धरानकै बज पव एन्ड रेष्ट्रोले भ्यालेन्टाई डे लाई स्पेशल बनाउन टु गन्स लिंगर्स ब्यान्डका शरद श्रेष्ठ र अभिसेक मिश्रलाई मञ्चमा उतार्दै छ । टेन लेभेन, मायावी, एमएच बिबिक्यू लगायतका लाउञ्जहरुले पनि भ्यालेन्टाईन स्पेशल कार्यक्रम गर्दैछन् ।

v-day

इटहरीको इम्पेरियल लाउञ्ज एन्ड बारले अस्ति नै देखि विभिन्न कार्यक्रम गरेर प्रि भ्यालेन्टाईन मनाईरहेको छ । इम्पेरियलले १२ फेब्रेवरीमा भ्यालेन्टाईन डे रेट कार्पेट शो आयोजना ग¥यो । जसमा अभिनेतृ बेनिसा हमाल शो स्टपर थिईन् भने केकी अधिकारी होस्ट । स्थानीय र काठमाडौंका मोडलहरुले ¥याम्प नापेको शोलाई डिजे जायनले अझ विशेष बनाए । उनको डिजेईङमा स्थानीय पार्टीप्रेमी मज्जाले नाचेर भ्यालेन्टाईन डे मनाए । इम्पेरियलका सञ्चालक सन्दीप राईका अनुसार भ्यालेन्टाइन डेका दिन भने यहाँ विशेष कार्यक्रम हुनेछैन । भन्छन्,‘प्रि भ्यालेन्टाईन नै मज्जाले मनाउने योजना अनुसार यस्तो कार्यक्रम राखिएको हो ।’

झापा, दमकस्थित हार्डरक लाउन्ज एन्ड रेष्ट्रोले पनि भ्यालेन्टाइन डे स्पेशल कार्यक्रमहरु गरिरहेको छ । गत आईतबार टेडी डेमा एकष्टिक नाईट आयोजना गरेको हार्डरकले डिजे म्याडी र डिजे पिटबुलको प्रस्तुतीमा सहभागीहरुलाई झुमायो । प्रपोज डेमा डिजेहरुसँगै सिग्नेचर ब्यान्डको प्रस्तुती रह्यो । हरेक शुक्रबार र शनिबार विशेष कार्यक्रम गर्दै आएको हार्डरकले भ्यालेन्टाईन डेका दिन स्थानीय ब्यान्ड क्यानेडीसँगै डिजे एमन र डिजे म्याडीको डिजेईङमा स्थानीयलाई नचाउने योजना बनाएको सञ्चालक तेज बहादुर राई बताउँछन् । भन्छन्,‘भ्यालेन्टाइन डे अघि नै हाम्रा ग्राहकहरु नाच्न, गाउन रमाईलो मानिरहेका छन् । यसपाली भ्यालेन्टाईन डे सारै रमाईलो भईरहेको छ ।’

शहरका लाउञ्ज, रेष्टुरेन्टहरुमा मात्र होईन अचेल गाउँगाउँसम्म भ्यालेन्टाईन डे को लहर चलेको छ । कुनै प्रेमजोडी मन्दिरमा पुग्छन्, कुनै रमणीय ठाउँतिर । भ्यालेन्टाईन डेलाई विशेष बनाउन डान्सपार्टीमा रमाउने, रेष्टुरेन्ट जानेहरु मात्र होईन विभिन्न रमणीय ठाउँमा घुम्न जानेहरु पनि उत्तिकै हुन्छन् ।

पूर्वेलीहरु विशेषगरी भ्यालेन्टाई डे का दिन भेडेटार घुमघाम गर्ने गर्छन् । प्रेम जोडीहरुको विशेष आकर्षण रहने भेडेटारमा पूर्वका विभिन्न जिल्लासँगै भारतीय जोडीहरु पनि घुम्न आईपुग्छन् । उनीहरु भेडेटार बजारसँगै नमस्ते झरना, पाथीभरा मन्दिर, नाम्जे, डाँडाबजार देखि राजारानी तालसम्म पुग्छन् ।

भ्यालेन्टाईन डेमा आफ्ना प्रेमी प्रेमिकासँग रमाउन कतिपय युवायुवती धनकुटाको हिले, तेह्रथुमको बसन्तपुर घुमघाममा पनि निस्किन्छन् । कोहि चतरास्थित सप्तकोशी नदी किनार र सप्तकोशी पुलमा पुग्छन् । कोहि इटहरीका ओसनपार्क र गोकुलम पार्क तिर पुग्छन् । अनि कोहि चाहिं इलामको चियाबारी हेर्न फिक्कलतिर लाग्छन् ।

teddy-beer

क्रिश्चियन धर्मगुरु भ्यालेन्टाईनलाई रोममा राज्यको नीति विरुद्ध सैनिकहरुलाई प्रेम र विवाह गराउने गरेको आरोपमा सन् २६९को फेब्रुवरी १४का दिन फाँसी दिईएको थियो । सोहि दिनलाई आधार मानेर भ्यालेन्टाइन डे मनाउन थालिएको हो । तर अचेल सबै धर्मका युवायुवती भ्यालेन्टाइन डे मनाईरहेका भेटिन्छन् । मनाउने तरिका आ आफ्नै छन् । भ्यालेन्टाइने डेलाई प्रेम उत्सवका रुपमा मनाउने गरिएको छ । यो दिन प्रेम प्रस्ताव राख्दा प्रेमी प्रेमिकाले विशेष रुपमा लिएर स्विकार गर्ने युवापुस्तामाझ विश्वस रहेको हुन्छ ।

कतिपयले भने यसलाई रमाईलो उत्सवका रुपमा मात्र पनि लिने गरेका छन् । त्यसैले त धेरै जसो पूर्वेली युवायुवती लाउञ्ज, रेष्टुरेन्ट गएर नाच्दै गाउँदै रमाईलो गर्ने अनि विभिन्न रमाईला ठाउँमा प्रेमीसँग घुम्ने बहाना ठान्छन् 'भ्यालेन्टाईन डे'लाई ।