धरान : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा भएको आन्दोलनले लोकतन्त्र, गणतन्त्र र संविधान आएकोले अब कसैले उल्टाउन नसक्दे बताएका छन् ।

नेता पौडेलले आज विहीबार सुनसरी क्षेत्र नं १ नेपाली कांग्रेस धरानको पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले पनि उल्टाउन नसक्ने ठोकुवा गरेका हुन् । नेता पौडेलले नेपाली कांग्रेसले देशलाई जहिल्यै प्रजातान्त्रिक बाटोबाट नै मुलुकलाई अघि बढाउने पनि धारणा ारखे । साथै उनले बाम गठबन्धनको दुईतिहाई धेरै समय नटिक्ने पनि बताए । ‘अहिले एमाले र माओवादीले बाम गठबन्धन भएर दुई तिहाई बहुमत ल्याएको छ । तर यो धेरै समय टिक्दैन’ नेता पौडेलले भने, कांग्रेसले नै लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधान ल्यायो, तर चुनावमा हाम्रो हार हुनु दुर्भाग्य बन्यो ।’

नेता पौडेलले कम्युनिष्ट सरकार आफ्नो कामलाई भन्दा पनि प्रचारबाजीमा लागेको आरोप पनि लगाए । उनले कांग्रेस कहाँ चुकेको छ भनेर आत्मसमिक्षासहित पार्टीलाई अघि बढाउनुपर्ने धारणा राख्दै पार्टी सभापति शेरबहादुर देउवालाई आरोप प्रत्यारोप नगर्न र सुधार गर्दै पार्टीलाई लैजान आग्रह समेत गरे । पौडेलले अबको चनावमा जित हासिल गर्न नसके कांग्रेस कहिल्यै पनि उठ्न नसक्ने भन्दै अहिले देखिनै कांग्रेस जनताको घरदैलोमा पुगेर समस्याको समाधान गर्न कार्यकर्ताहरुलाई सुझाव दिए । उनले भने, ‘कम्यिुनिष्ठहरु हामी भन्दा बढी चर्को समाजवादमा उत्रेको छ, तर उनीहरुले कसरी समाजवादको बाटो अपनाइरहेका छन्, त्यो हामीले देखिरहेका छौँ ।’

क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठले पार्टी र कार्यकर्ता बीच भयालेन्टाइन डे को जस्तो सम्बन्ध हुनुपर्ने अनि मात्र नेपाली कांग्रेसले फड्को मार्ने बताए । यदी नेपाली कांग्रेसले बल र धनको घमण्ड गर्यो भने कांग्रेस कहीले पनि माथि नउठ्ने उनले बताए । यसैगरी, नेपाली कांग्रेसका जिल्ला सभापति राजिव कोइरालाले पार्टी र कार्यकर्ताबीच समन्वय भयो भने मात्र पार्टीले रुप फेर्ने बताए । भेटघाट कार्यक्रममा प्रदेश संसद, नगर सचिव, पार्टीका नगर सल्लाहाकार, कायकर्तालगायतको उपस्थिति रहेको थियो ।